नेकपा (एमाले) का सांसद ऐन महरले सरकारले सही दिशा र कार्यशैली अपनाएर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार अहिले टाउकाले टेकेर उल्टो बाटोमा हिँडिरहेकोजस्तो देखिएको टिप्पणी गरे।उनले गन्तव्यमा पुग्न सही बाटो रोज्न आवश्यक रहेको उल्लेख गर्दै सरकारलाई खुट्टाले टेकेर सुल्टो बाटोमा हिँड्न आग्रह गरे।
सांसद महरले पुराना संरचना र कार्यशैली परिवर्तन गर्ने नाममा विवेक अपनाउन आग्रह गरे । ‘नराम्रा कुरा र पुराना कार्यशैली भत्काउने काममा हाम्रो समर्थन छ,’ उनले भने, ‘तर, प्रतिशोध साध्ने नाममा धरहरा, सुरुङमार्ग र रानीपोखरीजस्ता विकासका संरचना पनि भत्काउने हो भने त्यसलाई स्वीकार गर्न सकिँदैन।’
उनले सरकारले अघि सारेको निलो क्रान्ति अवधारणाप्रति पनि प्रश्न उठाए। निलो क्रान्ति भनेको के हो ? बस र सदनको रङ फेर्नुलाई निलो क्रान्ति भन्ने हो कि जनताको जीवनस्तरमा परिवर्तन ल्याउने क्रान्ति भन्ने हो भन्दै उनले सरकारले नाराभन्दा परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए।