दुईजनाको एउटै भाषणबारे सांसद थपलिया– सरकारले नसुने सयौँले एउटै कुरा बोल्छन्

‘सामाजिक सञ्जाल कस्तो बनाउँदै छौं, आफैँलाई हेरेर मूल्यांकन गरौं’

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सरकारले कुरा नसुनेपछि दुई सांसदले एउटै विषय बोलेको स्पष्टीकरण दिएकी छिन्।

शुक्रबारको बैठकमा कांग्रेसका सांसदद्वय बासना थापा र थपलियाले हुबहु एउटै विषय पढेर सुनाएका थिए। सरकारले नसुने सयौँजनाले एउटै विषय बोल्नुपर्ने उनले बताइन्।

‘केही दिनअगाडि यो सदनमा हामी दुईजना माननीयले एउटै कुरा राखेका थियौँ। २४ घण्टा नबित्दै तीनजना युवाले आत्मदाह गरेको कुरा सामान्य थिएन। सरकारले कुरा नसुनेपछि हाम्रो शैली फरक थियो। सरकारले जबसम्म कान सुन्दैन हामी त्यो शैली अपनाउँछौँ। दुईजना माननीयले मात्र होइन, सयौँजना माननीयले (एउटै विषय) राख्न सक्छौँ,’ उनले भनिन्।

यही विषयलाई आधार बनाएर सामाजिक सञ्जालमा ट्रोल भएपछि विक्षिप्त भएर आफूले दुईपटक आत्महत्याको प्रयास गरेको सांसद थपलियाले सुनाइन्। सामाजिक सञ्जाल कस्तो बनाउँदै छौँ भन्ने कुरा आफैँलाई हेरेर मूल्यांकन गर्न उनले आग्रह गरिन्।

‘ट्रोल सहन नसकेर म एकदमै विक्षिप्त भएकी थिएँ। यो अवधिभर म आफैँले दुईपटक आत्महत्या गर्ने कोसिस पनि गरेँ,’ उनले भनिन्,  ‘सामाजिक सञ्जाल कस्तो हुँदै छ, कस्तो बनाउँदै छौँ भन्ने कुरा हामीले आफैँलाई हेरेर मूल्यांकन गरौँ।’
 

सुझावित समाचार