रौतहटमा २८ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

रौतहटका एक २८ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गरुडा नगरपालिका– ९, गमरिया टोलनिवासी देवेन्द्र सहनीका छोरा गौतमकुमार सहनीले मंगलबार बिहान करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

घटनापछि घाइते सहनीलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। चिकित्सकका अनुसार उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको छ। हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

अस्पतालबाट बिहान करिब ४ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको नेतृत्वमा टोली घटनास्थल र अस्पताल पुगेको थियो। प्रारम्भिक अनुसन्धानसँगै आवश्यक विवरण संकलन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थप उपचारका लागि घाइते सहनीलाई बिहान ४:१५ बजे कीर्तिपुरस्थित बर्न अस्पताल, काठमाडौं रिफर गरिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

See More On

सुझावित समाचार