जसपा नेपालमा ६०/४० प्रतिशतको भागबन्डा

३३ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

जसपा नेपालको संगठन समायोजन ६०/४० प्रतिशतका आधारमा हुने भएको छ । पदाधिकारीसहित सबै कमिटीमा सोही अनुपातमा हुने गरी समायोजना टुंग्याइने नेताहरूले बताएका छन् । निर्वाचनअघि नै जसपा नेपाल र लोसपाबिच पार्टी एकता भए पनि अझै समायोजन टुंगिएको छैन । एकतापछि उपेन्द्र यादव अध्यक्ष र महन्थ ठाकुर संरक्षक छन् । तर, बाँकी समायोजन भने हुन सकेको छैन ।

आन्तरिक र सामूहिक छलफलपछि अध्यक्ष उपेन्द्र यादवले साबिक जसपा नेपालको केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकले एकतासम्बन्धी प्रस्ताव पारित गरेपछि संयुक्त बैठक बस्ने र समायोजन प्रक्रिया अघि बढ्ने प्रवक्ता मनीष सुमनले जानकारी दिए । बैठक आगामी ३ साउनमा पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बोलाइएको छ । ‘साबिक जसपा नेपालको अन्तिम केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठकबाट एकतासम्बन्धी प्रस्ताव पारित गर्ने तयारी छ,’ सुमनले भने । उनका अनुसार साबिक जसपा नेपालबाट केन्द्रीय कमिटीमा को–को रहने भन्ने निर्णय बैठकले गर्नेछ । त्यसपछि समायोजन प्रक्रिया अघि बढ्ने नेताहरूले बताएका छन् ।

जसपामा २५१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी छ । पदाधिकारी कति रहने भन्ने टुंगो लागिसकेको छैन । पदाधिकारीमा केही वरिष्ठ नेता, केही उपाध्यक्ष, केही महासचिव, केही उपमहासचिव र एक कोषाध्यक्ष रहनेछन् । पदाधिकारीसहित केन्द्रीय समितिमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य रहने भएका छन् । पदाधिकारीसहित केही केन्द्र्रीय सदस्यबाट सचिवालय गठन गर्ने तयारी छ । यसअघि पार्टी दर्ता प्रयोजनका लागि ५२ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको थियो ।

सुझावित समाचार