कोशी प्रदेशमा पछिल्ला पाँच वर्षमा चट्याङ लागेर ६६ जनाको मृत्यु भएको छ । २१८ जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार आर्थिक वर्ष ०७८/७९ देखि चालू आव ०८२/८३ को २५ असारसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
मृत्यु हुनेमध्ये ४४ पुरुष र २२ महिला छन् । घाइतेमध्ये ११५ पुरुष र १०३ महिला रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । चट्याङबाट पुरुषको मृत्यु तथा घाइते हुने दर महिलाको तुलनामा बढी छ ।
जिल्लागत विवरणअनुसार झापा सबैभन्दा बढी प्रभावित बनेको छ । झापामा पाँच वर्षमा ११ जनाको मृत्यु भएको छ । इलाम, सुनसरी, भोजपुर, उदयपुर र खोटाङमा सात–सातजनाको ज्यान गएको छ । ओखलढुंगामा सबैभन्दा धेरै ४३ घाइते भएका छन् । भोजपुरमा ३९, उदयपुरमा ३३ र खोटाङमा २७ जना घाइते भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रदेश प्रहरीका अनुसार यस अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन् । चट्याङबाट आगलागी हुँदा प्रदेशका १४ जिल्लामा १७० घर तथा गोठ जलेका छन् । यसबाट कुल तीन करोड ७२ लाख ६५ हजार ३५० रुपैयाँबराबरको धनजनको क्षति भएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्षगत रूपमा हेर्दा ०७८/७९ मा १२ लाख ३२ हजार रुपैयाँ, ०७९/८० मा ९८ लाख ७४ हजार रुपैयाँ, ०८०/८१ मा एक करोड २२ लाख ३५ हजार ६ सय रुपैयाँ, ०८१/८२ मा एक करोड १४ लाख ८६ हजार रुपैयाँ तथा चालू आव ०८२/८३ को २५ असारसम्म एक करोड २४ लाख ३७ हजार ७५० रुपैयाँबराबरको क्षति भएको तथ्यांकमा उल्लेख छ ।
अभिलेख राख्न ‘लाइटिङ डिटेक्टर नेटवर्क’ अनिवार्य
चट्याङ (बिजुली) कहाँ, कहिले, कतिपटक र कति शक्तिसहित पर्यो भन्ने जानकारी लाइटिङ डिटेक्टर नेटवर्कले गर्छ । यो उपकरण कोशी प्रदेशमा विराटनगर विमानस्थलमा मात्र छ । विमानस्थल सञ्चालनको समयमा मात्र रेकर्ड हुने गरेको छ । जल तथा मौसम विज्ञान कार्यालय, धरानका सूचना अधिकारी रूपक थापाका अनुसार कोशी प्रदेशमा यस्तो नेटवर्क सञ्चालनमा छैन । ‘हाम्रो कार्यालयमा रहेको एउटा लाइटनिङ डिटेक्टर उपकरणसमेत बिग्रिएको छ । यो ६ वर्षअघि सञ्चालनमा थियो । मर्मत नहुँदा सञ्चालन हुन सकेको छैन । कोशी प्रदेशमा अहिले विराटनगर विमानस्थलमा मात्र छ,’ उनले भने ।
चट्याङका अधिकांश घटना प्रि–मनसुन र मनसुनको समयमा हुने गरेको छ । तर, प्रदेशभर चट्याङ कहाँ, कहिले र कतिपटक पर्यो भन्ने अभिलेख राख्ने लाइटनिङ डिटेक्सन नेटवर्क नभएपछि कुनै पनि चट्याङको अभिलेख नपाइने थापाको भनाइ छ । ‘हामीसँग भएको लाइटनिङ डिटेक्टर मेसिन पनि बिग्रिएको छ । कुन क्षेत्रमा, कुन समयमा कतिपटक चट्याङ पर्यो भन्ने दैनिक, मासिक वा वार्षिक अभिलेख राख्ने प्रणाली अहिले छैन,’ उनले भने । थापाका अनुसार चट्याङको वैज्ञानिक अभिलेख राख्न लाइटनिङ डिटेक्सन नेटवर्क अनिवार्य हुन्छ ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोखरेलका अनुसार पछिल्ला वर्षहरूमा चट्याङका घटना बढ्दै गएको बताइन् । ‘मौसममा अचानक हुने परिवर्तन, मेघगर्जन र वर्षासँगै पर्ने चट्याङका कारण खेतबारीमा काम गरिरहेका किसान, गोठाला, जंगलमा घाँस–दाउरा संकलन गर्न गएका स्थानीय तथा खुला स्थानमा रहेका मानिस बढी जोखिममा पर्ने गरेका छन्,’ उनले भनिन् ।
पोखरेलले मौसम खराब हुँदा खुला चौर, अग्ला रुख, बिजुलीका पोल, टेलिफोनका तार तथा धातुजन्य वस्तुबाट टाढा रहन, सकेसम्म पक्की भवनभित्र बस्न तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउनको सुझाव दिइन् । साथै, विद्यालय, स्थानीय तह र समुदायस्तरमा चट्याङसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके क्षति न्यूनीकरणमा प्रभावकारी हुने उनको भनाइ छ ।