- ह्यारी केन र लियोनल मेसी विश्वकपमा आमने–सामने हुँदै छन् । सम्भवतः उनीहरूको यो पहिलो तथा अन्तिम भेट हुन सक्छ
- तथ्यांकअनुसार विश्वकपको पाँच भेटमा इंग्ल्यान्डले तीन र अर्जेन्टिनाले दुई खेलमा बाजी मारेका छन्
फिफा विश्वकप फुटबल प्रतियोगितामा बुधबार राति उपाधि दाबेदार अर्जेन्टिना र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छ । अमेरिकाको एटलान्टा रंगशालामा हुने यो भिडन्त पनि विश्वकपको हाइभोल्टेज खेलका रूपमा लिइएको छ । सन् १९६६ पछि इंग्ल्यान्ड उपाधि भित्र्याउने योजनामा रहँदा अर्जेन्टिना विश्वकप ट्रफी रक्षा गर्ने अभियानमा छ । लियोनल मेसी र ह्यारी केन पहिलोपटक विश्वकपमा आमनेसामने गर्दै छ । सम्भवतः उनीहरूको यो पहिलो तथा अन्तिम भेट हुनेछ ।
यी दुवै कप्तान उत्कृष्ट फर्ममा छन् । दुवैले टोलीलाई अन्तिम चारसम्म पुर्याउन प्रेरणादायी खेल प्रस्तुत गरेका छन् । मेसीले चालू विश्वकपमा ८ र केनले ६ गोल गरेका छन् । यी दुवै खेलाडी गोल्डेन बुटको दावेदारी बलियो बनाउन गोलका लागि आतुर छन् । अर्जेन्टिना र इंग्ल्यान्ड २१ वर्षपछि भिड्न लागेका हुन् । उनीहरूले सन् २००५ नोभेम्बर १२ मा स्विट्जरल्यान्डको जेनेभा सहरमा भएको मैत्रीपूर्ण खेलमा अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए । सो खेलमा इंग्ल्यान्डले ३–२ ले बाजी मारेको थियो ।
विश्वकपका पाँच खेलमा आमनेसामने हुँदा इंग्ल्यान्डले तीन र अर्जेन्टिनाले दुई खेलमा जित निकालेको छ । सन् १९६२ मा चिलीमा भएको विश्वकपमा उनीहरूबिच पहिलो भेट भएको थियो । समूह चरणमा अर्जेन्टिनामाथि इंग्ल्यान्डले ३–१ को जित निकालेको थियो । सन् १९६६ मा अर्जेन्टिनाविरुद्धको दोस्रो भेटमा इंग्ल्यान्ड १–० ले विजयी भयो । जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको थियो । घरेलु मैदानमा आयोजित विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको थियो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको समूह चरणमा इंग्ल्यान्ड अर्जेन्टिनासँग २–१ ले पराजित भयो ।
फ्रान्सले सन् १९९८ मा आयोजना गरेको विश्वकपको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा इंग्ल्यान्डलाई हरायो । सन् २००२ मा पहिलोपटक एसियामा आयोजना भएको विश्वकपको समूह चरणमा अर्जेन्टिनामाथि इंग्ल्यान्डले १–० को बाजी मार्यो ।
अर्जेन्टिनाको विश्वास ‘लक्की’ नीलो जर्सी
अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा परम्परागत जर्सी नलगाउने भएको छ । अर्जेन्टिनाले नीलो–सेतो धर्के जर्सी नभएर गाढा नीलो रङको अवे जर्सी लगाएर खेल्नेछ । सन् १९८६ र १९९८ को विश्वकपमा इंग्ल्यान्डविरुद्धको ऐतिहासिक निकाल्दा उसले यसै अवे जर्सील प्रयोग गरेको थियो । यसलाई अर्जेन्टिनाले संयोग र अन्धविश्वाससँग जोडेर हेरेको छ । अर्जेन्टिनाले गाढा नीलो जर्सी चालू विश्वकपमा दोस्रोपटक प्रयोग गर्न लागेको हो ।
सामान्य रूपमा अर्जेन्टिनाले अन्य सबै खेलमा नीलो–सेतो धर्के डिजाइनको जर्सी प्रयोग गरेको थियो । सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ र अविस्मरणीय एकल गोलको मद्दतमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । त्यसवेला अर्जेन्टिनाको जर्सी गाढा नीलो थियो । सन् १९९८ को विश्वकप अन्तिम १६ मा पनि अर्जेन्टिनाले यसै गाढा नीलो रङको जर्सी लगाएर पेनाल्टी सुटआउटमा इंग्ल्यान्डलाई पराजित गरेको थियो । इंग्ल्यान्ड भने आफ्नो सेतो घरेलु जर्सीमै मैदान उत्रने तय छ । सन् २००२ को विश्वकपमा दुवै टोलीको जर्सी परिवर्तन भयो । सो विश्वकपमा इंग्ल्यान्डले रातो जर्सी र अर्जेन्टिना नीलो–सेतो धर्के जर्सी प्रयोग गरेको थियो । खेलमा इंग्ल्यान्ड १–० ले विजयी भयो । फिफाले खेलअगाडि नै दुवै टोलीलाई पहिलो रोजाइको जर्सीमै खेलाउने प्रयास गर्छ ।
हामी इंग्ल्यान्डसँग खेल्न आतुर छौँ : लियोनल मेसी, कप्तान, अर्जेन्टिना
इंग्ल्यान्डसँगको खेल कठिनमध्ये एक हुन सक्छ । दुई दशकपछि हामी एक अर्कासँग प्रतिस्पर्धा गर्दै छौँ । हाम्रो प्रयास इंग्ल्यान्डलाई हराएर फाइनल स्थान बनाउने हो । अहिले खेलाडी सबै फिट छन् । सबैले सबै खेलमा आ–आफ्नो भूमिका निर्वाह गरेका छन् । हामीले लगातार तीन खेलमा कठिन जित निकाल्यो । प्रत्येक खेलमा जित हात पार्न अन्तिम समयसम्म प्रतिस्पर्धा गर्नुपरेको थियो । इंग्ल्यान्डविरुद्ध हामी सतर्क रहेर प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरू पनि राम्रो सेपमा छ । इंग्ल्यान्डलाई कमजोर लिन मिल्दैन । यद्यपि, विश्वकपमा इंग्ल्यान्डसँग खेल्नु फरक अनुभूति हुनेछ । उनीहरूविरुद्ध खेल्न हामी अतुर छौँ ।
अर्जेन्टिनाविरुद्ध फरक रणनीति हुनेछ : ह्यारी केन, कप्तान, इंग्ल्यान्ड
अहिले हामी साबिक विजेता तथा विश्वकपकै प्रमुख दाबेदारसँग खेल्न गइरहेका छौँ । अर्जेन्टिना सबै पक्षमा बलियो छ । विशेषतः उनीहरूको सर्वाधिक बलियो पक्ष नै कप्तान मेसी हुन् । हामीलाई थाहा छ । उसलाई मार्किङ गरेर खेल्यौँ भने इंग्ल्यान्डलाई खेल्न सहज हुन्छ । क्वार्टरफाइनलमा हाल्यान्डलाई रोक्न एक रणनीति अपनाएका थियौँ । अव सेमिफाइनलमा मेसी र अर्जेन्टिनालाई रोक्न फरक रणनीति बन्नेछ । इंग्ल्यान्डले अहिलेसम्मको यात्रामा उत्कृष्ट प्रदर्शन गरेको छ । इंग्ल्यान्ड सन् १९९६ पछि विश्वकप फर्काउने अभियान सफल बनाउन यो खेल महत्वपूर्ण हुनेछ । यसकारण हामी गल्ती गर्दैनौँ ।
प्लेयर्स टु वाच
जुड वेलिंघम (इंग्ल्यान्ड)
वेलिंघम थाहा नपाउने गरी इंग्ल्यान्डको सेमिफाइनल यात्राका नायक बनेका छन् । इंग्लिस समर्थकहरूले क्वार्टरफाइनलमा नर्वेविरुद्धको खेलमा उनको योगदान लामो समयसम्म बिर्सने छैनन् । वेलिंघमकै निर्णायक गोलमा इंग्ल्यान्डले सेमिफाइनल स्थान बनाएको थियो । उनी मिडफिल्डर हुन् । तर, आवश्यक परेको वेला अगाडि बढेर गोल गर्ने वेलिंघम सिपालु छन् । मध्यभागबाट फाइनल थर्डमा रहेका खेलाडीहरूलाई उनले सहजै बल उपलब्ध गराउँछन् । विश्वकपमा ६ खेल खेलेका उनले एक गोल र असिस्ट गरेका छन् । खराब ट्याकलका कारण उनले एउटा पहेँलो कार्ड पाएका छन् । उनले अर्जेन्टिनाविरुद्ध पुनः कार्ड पाउँदा इंग्ल्यान्ड समस्यामा पर्न सक्छ । रियल म्याड्रिडबाट खेल्ने वेलिंघम ठुला खेलमा तनावरहित खेल्छन् ।
निकोलास गोन्जालेज (अर्जेन्टिना)
अर्जेन्टिनाको बलियो पक्ष मिडफिल्ड हो । विपक्षीमाथि दबाब बढाउन बल पोसेसन बनाएर अगाडि बढ्ने शैली नै अर्जेन्टिनाको हो । यसमा मिडफिल्डर गोन्जालेजको भूमिका मुख्य मान्न सकिन्छ । अहिलेसम्म पाँच खेलमा अवसर पाएका उनले एक असिस्ट गरेका छन् । अर्जेन्टिनाको मिडफिल्डमा अन्य विश्वस्तरीय खेलाडी रहँदा गोन्जालेजको अनुभवलाई कम आँक्न मिल्दैन । व्यावसायिक रूपमा उनी युभेन्टसमा आबद्ध छन् । पछिल्लो समयमा उनले युभेन्टसबाट गतिलो प्रदर्शन गरिरहेका छन् । इंग्ल्यान्डसँगको रोमाञ्चक प्रतिस्पर्धालाई गोन्जालेज मिस गर्न चाहँदैनन् । यसैकारण, उनी बुधबार हुने खेलमा मिडफिल्ड भूमिका आफूलाई शतप्रतिशत रूपमा उतार्ने उनको योजना छ ।
अमेरिकन रेफ्रीले दोस्रो सेमिफाइनल खेलाउने
अमेरिकन रेफ्री इस्मेल इफाथले बुधबार राति इंग्ल्यान्ड र अर्जेन्टिनाबिच खेल सञ्चालन गर्ने भएका छन् । फिफाले मंगलबार महत्वपूर्ण खेलका लागि अनुभवी रेफ्री नियुक्त गरेको जानकारी दिएको छ ।
४४ वर्षीय इस्मेलले यसअघि जापान र नेदरल्यान्ड्सबिचको खेल खेलाएका थिए । यसैगरी, उनले नर्वे र ब्राजिलबिच खेल पनि खेलाए । उनले विश्वकपमा ६ पहेँलो तथा एउटा डाइरेक्ट रेड कार्ड दिइसकेका छन् ।