नेतृत्वविहीन उदयपुर सिमेन्टका कर्मचारीको दिन गफमै बित्छ, ६ करोडको सिमेन्ट अझै गोदाममै

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

नेतृत्वविहीन बनेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका कर्मचारी फुर्सदिला बनेका छन् । कर्मचारीको दिन गफ गरेर बित्ने गरेको छ । निमित्त महाप्रबन्धक कोविद काफ्ले अनिवार्य अवकाशमा गएपछि उद्योगमा नयाँ कार्यालय प्रमुख नियुक्त हुन नसक्दा प्रशासनिकदेखि आर्थिक कामसमेत ठप्प बनेका हुन् ।

उद्योग बन्द रहेको अवस्थामा नेतृत्वसमेत नहुँदा कर्मचारी उद्योगपरिसरमा भेला भएर समय कटाउन थालेका हुन् । निमित्त महाप्रबन्धक काफ्लेले गत २४ असारमा औपचारिक रूपमा जिम्मेवारी छाडेपछि उद्योगमा कुनै पनि निर्णय गर्ने अधिकारप्राप्त अधिकारी छैनन् । 

उद्योगका सातौँ तहका कर्मचारी वीरबहादुर कार्कीका अनुसार अहिले उद्योगमा कार्यालय प्रमुख नै नभएकाले सामान्य प्रशासनिक कामसमेत हुन सकेको छैन । ‘कुनै पत्र आउँछ भने त्यसको जवाफ कसले दिने ? कुनै निर्णय कसले गर्ने ? अहिले प्रशासनिक र आर्थिक प्रशासन दुवै ठप्प छ । उद्योग चलाउने जिम्मेवारी लिने व्यक्ति नै छैन, उद्योग पनि पूर्ण रूपमा बन्द छ,’ झाले भने ।

उद्योग लामो समयदेखि बन्द रहेकाले अधिकांश कर्मचारी नियमित कामविहीन छन् । उद्योगमा कार्यरत १७५ स्थायी कर्मचारीमध्ये धेरैजसो उद्योगपरिसरमै भेला भएर दिन बिताउने गरेका छन् भने केही व्यक्तिगत काममा निस्किने गरेका छन् । उद्योग सुरक्षाका लागि खटिएका ५८ जना सुरक्षाकर्मी भने नियमित ड्युटीमै छन् ।

झाका अनुसार कर्मचारी उद्योगको क्वार्टरमा बसिरहनुभन्दा उद्योगमै आएर भेटघाट र गफ गरेर समय बिताउने अवस्था बनेको छ । ‘क्वार्टरमा दिनभरि बस्न मन लाग्दैन । त्यसैले उद्योगमै आएर भेटघाट गर्छौँ । अब हाजिरी कसले गराउने ? कसलाई कार्यालय प्रमुख मान्ने ? त्यो पनि अन्योलमै छ,’ उनले भने । 

उद्योगको व्यवस्थापन अभावका कारण आर्थिक क्षति पनि बढ्दै गएको कर्मचारीको भनाइ छ । उनका अनुसार प्याकिङका लागि आवश्यक बोरा खरिद गर्न नसक्दा करिब ६ करोड रुपैयाँबराबरको सिमेन्ट र क्लिंकर गोदाममै थन्किएको छ । लामो समयसम्म बिक्री हुन नसके ती सामग्री गुणस्तर गुमाएर नष्ट हुने जोखिम बढेको उनीहरूको दाबी छ । ‘हामीसँग तयारी सिमेन्ट छ, तर बोरा किन्न नसक्दा प्याकिङ गरेर बिक्री गर्न सकेका छैनौँ । यसले करोडौँ रुपैयाँको सामग्री जोखिममा परेको छ । मन्त्रालयले पनि समयमै निर्णय नगर्दा समस्या झन् जटिल बनेको छ,’ झाले भने ।

उद्योगपरिसरको भौतिक अवस्था पनि दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । लामो समयदेखि सञ्चालन र नियमित सरसफाइ हुन नसक्दा उत्पादन शाखाका उपकरणमा लेउ पलाएको छ । कार्यालयपरिसर झारपातले ढाकिएको छ भने कबाडी सामग्री यत्रतत्र छरिएको देखिन्छ । आवश्यक मर्मतसम्भार नहुँदा करोडौँ मूल्यका मेसिनरीसमेत बिग्रिने जोखिम बढ्दै गएको कर्मचारी बताउँछन् ।

उद्योगका कर्मचारीले तत्काल नेतृत्व नियुक्त गरी प्रशासनिक काम नियमित गर्न, गोदाममा थन्किएको सिमेन्ट बिक्रीको व्यवस्था मिलाउन र उद्योग पुनः सञ्चालनका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरिरहेको जानकारी दिए । 

पाँचजनाको नाम उद्योग मन्त्रालयमा
उद्योगले नयाँ निमित्त महाप्रबन्धक नियुक्तिका लागि पाँचजनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरे पनि अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन ।

उद्योगका सातौँ तहका कर्मचारी वीरबहादुर कार्कीका अनुसार आठौँ तहका वैद्यनाथ झा, असल राई, कृष्ण केसी, टीका कुँवर र हरिप्रसाद सुवेदीको नाम मन्त्रालयमा पठाइएको छ । सिफारिसमा परेका कर्मचारीमध्ये झाले पहिले आफू, असल राई र कृष्ण केसीको नाम मात्र सिफारिस भएको, तर पछि विभागीय कारबाहीमा परी दुई तह घटुवा भएका टीका कुँवर र हरिप्रसाद सुवेदीको नामसमेत थपिएको बताए ।

सुझावित समाचार