बजेट विवादले सरकार धरापमा परेपछि मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौं पुगेका छन् । कांग्रेस नेतृत्वसँग बजेट विवादबारे छलफल गर्न उनी सोमबार बिहान नियमित हवाई उडानबाट काडमाडौं गएका हुन् । मुख्यमन्त्रीनिकट स्रोतका अनुसार पार्टी नेतृत्वले नै उनलाई बोलाएको हो ।
कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक सरस्वती खड्काले पार्टी नेतृत्व तहमा छलफलपछि मुख्यमन्त्री शाह मंगलबार धनगढी फर्किने जानकारी दिइन् । मुख्यमन्त्री शाह कांग्रेस संसदीय दलका नेतासमेत हुन् । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बजेटमा भएका प्राविधिक त्रुटिहरूलाई सच्याउँदै बजेट पास गरेर जाने विषयमा छलफल भएको थियो ।
बजेट पुनर्लेखनको माग गर्दै आएको सत्ता साझेदार एमालेले सरकारका ६ वटै मन्त्रालयको खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपाले पनि भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कटौतीको प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ ।
सत्तापक्षबाटै संशोधन प्रस्ताव दर्ता भएपछि सुदूरपश्चिमको बजेट अन्योलमा परेको छ । असार मसान्तभित्र प्रदेश सरकारको बजेट प्रदेश सभाबाट पारित भइसक्नुपर्ने व्यवस्था छ । तर, असार सकिन तीन दिन मात्र बाँकी रहँदा प्रदेश सभामा बजेटमाथि दफावार छलफल सुरु भएको छैन ।
कांग्रेस प्रमुख सचेतक खड्काले भने एमालेसँग छलफल भइरहेकाले बजेट पारित हुने दाबी गरिन् । बजेटका सन्दर्भमा एमाले लचिलो हुने संकेत देखिएको उनको भनाइ छ । एमाले प्रमुख सचेतक चक्र मल्लले विधि, प्रक्रिया र मापदण्डविपरीत निर्माण गरिएको तथा बिचौलिया र आसेपासे हाबी भएकाले बजेट पुनर्लेखन हुनुपर्ने पार्टीको माग रहेको बताएका छन् ।