११ महिनामा ४०.३ प्रतिशतले बढेर ३७ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण
  •  रेमिट्यान्स आय उच्च, आयात वृद्धिदर औसत हुँदा विदेशी विनिमय सञ्चिति बढेको बढ्यै, शोधनान्तर सवा नौ खर्बले बचतमा 

नेपालमा विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा बढ्दै गएको छ । जेठ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति साढे ३७ खर्ब रुपैयाँबराबर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले बढेको हो । ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २६.५ प्रतिशतले बढेर २४ अर्ब ६८ करोड पुगेको छ । असार मसान्तसम्ममा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १९ अर्ब ५० करोडबराबर रहेको थियो ।

समीक्षा अवधिमा एकातर्फ रेमिट्यान्स आय उच्चदरमा बढेको छ भने अर्कातर्फ आयात वृद्धिदर औसत मात्रै रहेको छ । निर्यात वृद्धिदरसमेत सन्तोषप्रद रहेको देखिन्छ । नेपालको शोधनान्तर अवस्थासमेत नौ खर्बभन्दा बढीले बचतमा रहन पुगेको छ । यसरी विदेशी विनिमय सञ्चिति ऐतिहासिक विन्दुमा पुगेको हो । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा तीन खर्ब ३० अर्ब सात करोड पुगेको र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग चार खर्ब २५ अर्ब ५७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । 

अहिलेको विदेशी विनिमय सञ्चितिले २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले उल्लेख गरेको छ । विदेशी विनिमय सञ्चितिको अनुपात कुल गार्हस्थ्य उत्पादनसँग ६१.५ प्रतिशतबराबर पुगेको छ । त्यस्तै, कुल आयातसँग ६१.५ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग १५९.५ प्रतिशतबराबर हुन पुगेको छ ।

जेठमा भित्रियो दुई खर्ब तीन अर्ब रेमिट्यान्स
जेठ महिनामा नेपालमा दुई खर्ब तीन अर्ब ८९ करोड रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ । चालू आवको एघार महिनामा कुल रेमिट्यान्स आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । 

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो । चालू आवको एघार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख ६७ हजार दुई सय ११ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ५५ हजार सात सय ३५ रहेको छ ।

चालू खाता आठ खर्बले बचतमा 
समीक्षा अवधिमा चालू खाता आठ खर्ब दुई अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता तीन खर्ब २१ अर्ब ७४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा चालू खाता पाँच अर्ब ५३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति नौ खर्ब २६ अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति ६ अर्ब ३९ करोडले बचतमा रहेको छ । 

महँगी दोब्बरले बढ्यो 
यो ११ महिनामा मुद्रास्फीति उच्च देखिएको छ । जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ०.५४ प्रतिशत र ३.९४ प्रतिशत रहेको थियो ।

जेठ महिनामा फलफूल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १७.४० प्रतिशत, घिउ तथा तेलको १५.१० प्रतिशत, माछा तथा मासुको ५.२६ प्रतिशत र तरकारीको ४.१४ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.९३ प्रतिशतले घटेको छ । 

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८ प्रतिशत, यातायातको १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत र कपडा तथा जुत्ता–चप्पलको ५.५३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । जेठ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.५६ प्रतिशत रहेको थियो ।

सुझावित समाचार