नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन्। ४४औँ बिपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बृहत् बैठकलाई सम्बोधन गर्दै सरकारको कार्यशैलीको आलोचना गरेका हुन्।
बिपी कोइरालाले राणा प्रधानमन्त्रीलाई नागरिकले सत्तामाथि प्रश्न गर्ने अधिकारलाई अब कसैले रोक्न सक्दैन भनेर उसबेला दिएको जवाफको स्मरण गर्दै भने – पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडी तेर्स्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्याउने कुनै अधिकार राज्यले राख्दैन ।’
सभापति थापाले गाडी तेर्स्याउन आएकाहरू सरकारी गाडी चढेर फर्केको स्थानीय नागरिकबाट जानकारी पाएको उल्लेख गर्दै सुकुमवासी समस्या र गणेश नेपालीको आत्मदाहको अवस्थाबारे दल र मिडियाले प्रश्न उठाउन थालेपछि राज्यले यो व्यवहार गरेको बताए। उनले सुकुमवासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको प्रस्ट पार्दै कानुनले दिएको निकास नखोजेर सरकार आफैँले समस्या सिर्जना गरेको बताए। सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नुपर्नेमा मानव जीवनको रक्षाबाट विमुख र करुणाविहीन भएको उल्लेख गरे।
सभापति थापाले २०८३ श्रावण ६ गते पार्टीको जरा अभियान सम्पन्न भएलगत्तै साउन ७ गतेको कार्यक्रमबाट भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्ने जानकारी पनि गगराएका छन् । नेपाली कांग्रेस कुनै घटनापछि प्रतिक्रिया जनाउने पार्टीका रूपमा नरहने बरु सम्भावित नागरिक समस्यालाई उजागर गर्ने अभियानमा क्रियाशील रहेको उनको भनाइ छ।
पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले साउन ६ गते पार्टीका तर्फबाट पाँच किलोमिटरको ग्रिन रन, चित्रकला र संवाद कार्यक्रम हुने जानकारी गराए। नेपाली कांग्रेसले यो वर्षको बिपी पुण्य तिथिमा जलवायु परिवर्तन र यसका प्रभावमा केन्द्रित रहेर यी कार्यक्रम गर्न लागेको उनको भनाइ छ ।