राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारमाध्यमका कार्यालयबाहिर शंकास्पद रूपमा गाडी पार्क गरिएका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ। महामन्त्री विपीनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै राज्यको चौथो अंगलाई संकुचित पार्न खोज्ने कुनै पनि अवाञ्छित क्रियाकलाप रास्वपालाई स्वीकार्य नभएको प्रस्ट पारेका छन्।
‘राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्यमान्यताका ठाडो उल्लंघन हुन्,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपा पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको प्रस्ट पार्दै महामन्त्री आचार्यले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित उक्त घटनाको भर्त्सना गरेका छन्।
सञ्चारमाध्यमलाई कुनै दबाब र त्रासमा नपरी व्यावसायिक धर्म निर्वाह गर्न अपिल गर्दै रास्वपाले भनेको छ, ‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’
