नयाँ दलबाट बनेको सरकारप्रतिको विश्वास खण्डित : विश्वप्रकाश शर्मा

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बढ्दो निराशा, आत्मदाहका घटना र सुकुमवासीको दयनीय अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै शर्माले बर्खायाममा विस्थापित भएका सुकुमवासीहरू आफ्नै देशमा शरणार्थीजस्तै कष्टकर जीवन बिताउन बाध्य भएको उल्लेख गरे। उनले यो विषयलाई सत्ता–प्रतिपक्षको राजनीतिक मुद्दा नभई समाजमा आशा जगाउने साझा जिम्मेवारीका रूपमा लिन आग्रह गरे।

काठमाडौंमा गणेश नेपालीको आत्मदाह र कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा साना बालबालिका भोकै बस्नुपरेको अवस्थाप्रति सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ छ। प्रेम आचार्य र गणेश नेपालीको आत्मदाहको प्रसंग उल्लेख गर्दै उनले समाजमा निराशा किन बढिरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।

शर्माले होल्डिङ सेन्टरमा आधारभूत सुविधा सुनिश्चित गर्न र भविष्यमा कसैले पनि आत्मदाह गर्नुपर्ने अवस्था नआओस् भन्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे। 

साथै, सुकुमवासीको पक्षमा आवाज उठाउने युवालाई हिरासतमा राखिएको घटनाप्रति असन्तुष्टि जनाउँदै उनले सरकार नागरिकको भरोसाको केन्द्र बन्नुपर्ने र निराशामा परेकाहरूलाई राज्य साथमा रहेको अनुभूति दिलाउनुपर्ने बताए।

सुझावित समाचार