खेलकुद संस्थाबाट राजनीतिक औजारमा बदलिएको फिफा

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

जारी विश्वकपमा फिफा र यसको नेतृत्व एकपछि अर्को विवादमा घेरिएको देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि एकजना अमेरिकी खेलाडीको रातो कार्डका कारण भएको निलम्बन उल्ट्याउने निर्णयले सारा विश्वलाई क्रुद्ध र अचम्मित बनायो । त्यसमाथि इजिप्ट र केप भर्डेविरुद्ध अर्जेन्टिनाले खेलेको खेलमा रेफ्रीहरूले अर्जेन्टिनाको पक्ष लिएको आरोप लाग्यो । अहिले आएर विश्वले देखेको फिफाको भ्रष्ट रूप हामीले प्यालेस्टाइनमा वर्षौंदेखि देख्दै भोग्दै आएका छौँ । फिफाको विधानले स्पष्ट रूपमा मानव अधिकारको सम्मान भने पनि प्यालेस्टिनी फुटबलका सन्दर्भमा संस्था प्रणालीगत रूपमा असफल हुने गरेको छ ।

इजरायली फुटबल संघ (आइएफए)ले खेलाउने लिगका खेल नियन्त्रित प्यालेस्टिनी भूमिमा खेलाउने गरेकाले आइएफएलाई निलम्बन गर्नुपर्ने प्यालेस्टिनी फुटबल संघ (पिएफए)को बारम्बारको मागलाई फिफाले अस्वीकार गर्दै आएको छ । त्यस्तै, इजरायलले प्यालेस्टिनी फुटबल खेलाडीको सामूहिक हत्या गर्दा यसले कहिल्यै निन्दा गरेन । फिफाले इजरायली जेलमा कैद प्यालेस्टिनी फुटबल खेलाडीको रिहाईको माग पनि गरेको सुनिँदैन । अहिले पनि प्यालेस्टिनी महिला फुटबल टोलीका सदस्यहरू र्यान्ड हलवानी र नताली अबु दयेह इजरायली हिरासतमा छन् । तर, उनीहरूबारे फिफाले केही बोलेको छैन । इजरायली फुटबल संघ (आइएफए)ले नश्लवाद, रंगभेद र नियन्त्रणलाई मात्र सामान्यीकरण गरेको छैन, गाजा वा लेबनानका युद्ध अपराधमा इजरायली फुटबलरको सहभागितालाई सहजीकरण गरेको छ । 

अन्तर्राष्ट्रिय न्यायालय र संयुक्त राष्ट्र संघमा पेस गरिएका विभिन्न प्रस्तावका बाबजुद फिफाले नियन्त्रित प्यालेस्टिनी भूमिमा इजरायली खेल खेलाउन बन्द गर्नुपर्ने मागलाई ‘अन्तर्राष्ट्रिय कानुनअन्तर्गत अत्यन्त जटिल विषय’ भन्दै ‘वेस्ट बैंकको अन्तिम कानुनी स्थिति अझै समाधान नभएको’ भनेर पन्छिने गरेको छ ।

फिफा अहिले अमेरिका र यसका सहयोगी देशको विदेश नीति समर्थन गर्ने राजनीतिक औजार बनेको छ

खासमा यस्तो तर्कमार्फत फिफाले इजरायली दाबीलाई वैध बनाएजस्तो देखिन्छ । जसरी इजरायलले आफ्नो प्यालेस्टिनी भूमिको अवैध कब्जालाई सामान्य बनाउन पर्यटन, पुरातत्व, धर्म, कृषि र अन्य माध्यम प्रयोग गर्छ, यसले फुटबललाई पनि यही उद्देश्यमा प्रयोग गर्ने गरेको छ । र, दुःखको कुरा त्यसलाई फिफाले समर्थन गर्छ । फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको कार्यकालमा इजरायली अपराधमा फिफाको समर्थन झन् बढेको छ ।

मानव अधिकार संगठनले इन्फान्टिनोको कार्यलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पनि उठाएका छन् । फिफा नेतृत्व इजरायलको अपराध र त्यसमा आफ्नो एक सदस्य आइएफएको संलग्नताबारे मौन र निष्क्रिय मात्र छैन, यसले उनीहरूलाई चोख्याउने कार्यमा समेत सक्रिय सहभागिता जनाएको छ । गत महिना, फिफाले प्यालेस्टाइनलाई ‘शान्ति प्रवद्र्धन’ गर्न भन्दै अन्डर–१५ प्रतियोगिताको उद्घाटन खेल इजरायलसँग खेल्न सुझाव दिएको थियो । त्यसको केही साताअघि, इन्फान्टिनोले व्यक्तिगत रूपमा पिएफएका प्रमुखलाई इजरायली समकक्षीसँग हात मिलाउन बाध्य पार्ने प्रयास गरेका थिए ।

फिफा अब स्पष्ट रूपमा तटस्थ अन्तर्राष्ट्रिय खेलकुद महासंघ रहेन । यसको विधानले संस्थालाई कुनै पनि राजनीतिक हस्तक्षेपबाट टाढा रहनुपर्ने भनेको छ । तर, अहिले आएर संस्था अमेरिका र यसका सहयोगी देशको विदेश नीति समर्थन गर्ने राजनीतिक उपकरणमा बदलिएको छ । इन्फान्टिनो आफैँ यसका स्पष्ट उदाहरण हुन् । सन् २०१८ मा कुनै स्पष्ट कारणविनै उनी वासिंटनमा सम्पन्न ‘अब्राहम सम्झौता’को एक हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए । यो सम्झौता आफैँमा अरबी देशलाई इजरायलसँग नजिक ल्याएर  प्यालेस्टिनी प्रश्नलाई अरब देशको एजेन्डाबाट हटाउने प्रयास हो । 

त्यस्तै, सन् २०२१ मा इन्फान्टिनो दक्षिणपन्थी इजरायली अखबार ‘जेरुसेलम पोस्ट’ले आयोजना गरेको सम्मेलनमा सहभागी भए । सम्मेलन जेरुसेलमको मुस्लिम चिहान भत्काएर तयार पारिएको स्थानमा आयोजना गरिएको थियो । फेब्रुअरीमा, इन्फान्टिनोले प्यालेस्टिनी प्रश्नमा संयुक्त राष्ट्र संघको संलग्नता अन्त्य गरी इजरायली कब्जाविरुद्ध कुनै पनि अन्तर्राष्ट्रिय कानुनी प्रयास रोक्न ल्याइएको विवादास्पद ‘शान्ति बोर्ड’ उद्घाटन समारोहमा भाग लिए । त्यति वेला उनले शान्ति बोर्डसँग ‘फुटबलमार्फत पुनर्लाभ र शान्तिलाई अगाडि बढाउन रणनीतिक साझेदारी’को घोषणा पनि गरे ।

जारी विश्वकपका क्रममा उठेका विवादलाई पनि यस सन्दर्भमा बुझ्नुपर्छ । फिफाले अन्तर्राष्ट्रिय खेलकुद संस्थाका रूपमा आफ्नो स्वतन्त्र निर्णय लिने क्षमतामाथि स्पष्ट रूपमा नियन्त्रण गुमाएको छ । यो राजनीतिलाई फुटबलबाट बाहिर राख्ने आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । फुटबलर, रेफ्री र प्रशंसकविरुद्ध आयोजक अमेरिकाले गरिरहेका विभिन्न गलत हर्कतबारे सोधिएका प्रश्नमा इन्फान्टिनोले जनतालाई ‘शान्त’ रहन मात्र भनेर पन्छिए । फिफाको राजनीतीकरण यस अन्तर्राष्ट्रिय संस्थाप्रति विश्वभरका आममानिसले गर्ने  विश्वासमाथिको घात हो । विवादले अन्तर्राष्ट्रिय फुटबल र सबैलाई समावेश गर्न सक्ने खेलका रूपमा परिचित फुटबल खेललाई हानि पुर्याउन सक्छ । यदि इन्फान्टिनोले अहिलेको आफ्नो मार्ग परिवर्तन गरेनन् भने उनले छोड्ने विरासत भनेको विनाश मात्र हो । 

जहाँसम्म प्यालेस्टिनी फुटबलको कुरा छ, यो विभिन्न उतारचढावबिच पनि कायम रहनेछ । प्यालेस्टाइनमा फुटबल सन् १९०४ मा ‘सेन्ट जर्ज स्कुल टिम’ स्थापना भएदेखि नै अस्तित्वमा छ । त्यसवेलादेखि, फुटबल प्यालेस्टिनी जीवनका हरेक क्षणको हिस्सा रहँदै आएको छ । र, अन्य प्यालेस्टिनी वस्तुजस्तै, यसमा पनि कब्जा, नरसंहार र फिफाको भेदभावका बाबजुद बच्ने शक्ति छ ।

(प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनका पूर्वसल्लाहकार अबु इद हाल ट्रिनिटी कलेज, डब्लिनमा पिएचडी अध्ययनरत छन्) अलजजिराबाट

सुझावित समाचार