गृह प्रशासनकै मिलेमतोमा नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको बहुचर्चित ठगी धन्दामा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई अदालतले आज सजाय सुनाउने भएको छ। गत २३ असारमा जिल्ला अदालत, काठमाडौंले यससम्बन्धी चारै मुद्दामा ठहरको फैसला गरेको थियो।
३१ जना प्रतिवादी रहेको यो मुद्दामा १६ जना दोषी ठहर छन् भने सातजनाले सफाइ पाएका छन्। आठजना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ।
यस मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित संगठित अपराध तथा राज्यविरुद्धको कसुर मुद्दामा दोषी ठहर भएका छन्।
त्यस्तै, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया समूहका केशव दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेल दोषी ठहर भएका हुन् । उनीहरूलाई आज अदालतले सजाय तोक्नेछ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गर्नेछ। यस मुद्दामा सातजना प्रतिवादी कारागारमा छन्। टोपबहादुर रायमाझी, इन्द्रजित राई, बेचन झा, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा कारागारमा छन्।