मार्कीचोक–भरतपुर प्रसारणलाइनबाट विद्युत् प्रवाह सुरु

२२० केभी क्षमताको प्रसारणलाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली भरपर्दो र प्रभावकारी बन्ने

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण
  • ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ भन्छन्–एउटा टावर निर्माण हुन नसक्दा लामो समयदेखि अड्किएको प्रसारणलाइन सञ्चालनमा आएसँगै मर्स्याङ्दी करिडोरका आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् अब भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिनेछ।

लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर दुई सय २० केभी प्रसारणलाइनबाट सञ्चालनमा आएको छ । मार्कीचोक–भारतपुर प्रसारणलाइनबाट शनिबार दिउँसो तीन बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको हो ।

यो प्रसारणलाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक (न्यु मर्स्याङ्दी सबस्टेसन)देखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यु भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण गर्ने क्रममा मार्कीचोक क्षेत्रमा एउटा टावर निर्माण हुन नसक्दा लामो समयदेखि प्रसारणलाइन सञ्चालनमा आउन सकेको थिएन ।

गत ६ असारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्थलगत निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र आयोजनाका जिम्मेवार अधिकारीबिच समन्वय गरी निर्माणमा देखिएको अवरोध हटाउन पहल गरेका थिए । त्यसलगत्तै टावर निर्माणकार्य तीव्र रूपमा अघि बढ्दै सम्पन्न भएपछि प्रसारणलाइन सञ्चालनमा आएको हो । प्रसारणलाइन सञ्चालनसँगै यस क्षेत्रमा बारम्बार हुने ट्रिपिङ तथा ‘झ्यापझ्याप’ बत्ती जाने समस्यामा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ । साथै, विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता बढ्नुका साथै विद्युत् आपूर्तिको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

ऊर्जामन्त्री श्रेष्ठले बर्खायाममा मर्स्याङ्दी करिडोरका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् अब भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताए । यसअघि प्रसारण क्षमताको अभावका कारण कम क्षमतामा सञ्चालन गर्नुपर्ने जलविद्युत् आयोजनाहरूलाई पनि अब राहत पुग्ने उनको भनाइ छ ।

ऊर्जामन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रबिचको सहकार्यबाट उत्पादन भएको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने उल्लेख गर्दै यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता र ऊर्जा सुरक्षा सुदृढ गर्ने दिशामा महŒवपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए ।

मार्कीचोक–भरतपुर दुई सय २० केभी प्रसारणलाइन युरोपेली विकास साझेदारको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो । आयोजना सञ्चालनमा आएपछि मर्स्याङ्दी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह भई देशको विद्युत् प्रणाली अझ प्रभावकारी र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ ।

सुझावित समाचार