बेरोजगारीले निम्त्याएको अप्रिय कदम

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण
  • एमएस्सीसम्म पढ्दा लागेको ऋणको ब्याज तिर्न बैंकको तारन्तार ताकेता र पढेपछि बेरोजगार रहनुपर्ने आफ्नो अवस्थाका कारण मानसिक दबाबमा थिए ३५ वर्षीय विवेक मण्डल

सर्लाहीको गोडैता नगरपालिका– १० का ३५ वर्षीय विवेक मण्डलको परिवार आर्थिक रूपमा विपन्न थियो, तर पढाइमा तेज थिए । विज्ञान (साइन्स) उनको रुचिको विषय थियो । विलक्षण छोरालाई पढाउन सके भोलिका दिन सुखद हुनेछ भन्ने आसमा परिवार ऋण काढेरै भए पनि विवकलाई पढाउने निष्कर्षमा पुग्यो ।

सर्लाहीको गोडैता नगरपालिका– १० का ३५ वर्षीय विवेक मण्डल

विवेकका काका हजुरबुबा रामएकबाल मण्डलका अनुसार उनलाई प्लस टु, बिएस्सी र एमएस्सीसम्म पढाउँदा बुबा उपेन्द्रको टाउकोमा ऋणको गह्रौँ भारी लाग्यो । गाउँका महाजनसँग लिएको ऋणमा मिटरब्याज लाग्दा यति चर्को पर्‍यो कि त्यो बोझ घटाउन जमिन धितो राखेर लक्ष्मी बैंकबाट १४ लाख ऋण लिए । तर, पढ्दा लागेको ऋणको ब्याज तिर्न बैंकले गर्ने ताकेता र पढेपछि बेरोजगार रहनुपर्ने आफ्नो अवस्थाका कारण विवेक मानसिक दबाबमा थिए । त्यही दबाब खप्न नसकेका उनले शुक्रबार दिउँसो शरीरमा पेट्रोल छर्किएर आगो लगाए । हेलिकोप्टरबाट उद्धार गरिएका उनको काठमाडौंको कीर्तिपुरस्थित ‘बर्न अस्पताल’मा उपचार भइरहेको छ । 

‘विवेक पढाइमा तेज थियो । काठमाडौंमा एमएस्सी पढ्दा पनि कलेजमा एक नम्बरमै नाम निकालेको थियो । उसलाई पढाउँदा परिवारलाई ठुलै ऋण लाग्यो । पढेपछि रोजगारी मिल्ला, कमाएर तिरिएला भन्ने आस ऊसँग थियो, तर रोजगारी मिलेन । बैंकको ब्याज धान्न नसकेपछि केही महिनादेखि ऊ निकै तनावमा थियो,’ काका हजुरबुबा रामएकबालले भने ।

विवेकले करिब तीन वर्ष महोत्तरीको गौशालास्थित एक विद्यालयमा (कक्षा ११ र १२) पढाए । त्यहाँको जागिर छाडेको पनि एक वर्ष भइसकेको थियो । परिवारका सदस्यका अनुसार विद्यालयभित्रको राजनीतिक चलखेलका कारण उनी जागिर छाड्न बाध्य भएका थिए । हजुरबुबा रामएकबालका अनुसार उनले अन्य विभिन्न विद्यालय र शैक्षिक संस्थामा पनि रोजगारीको प्रयास गरे । लोकसेवा आयोगका परीक्षामा समेत सहभागी भए । तर, कुनै प्रयास सफल नभएपछि उनी बेरोजगार भएर घरमै बस्दै आएका थिए ।

‘विवेकलाई पढाउँदा परिवारले महाजनसँग लिएको ऋणको ब्याज चर्को थियो । त्यो ब्याजबाट मुक्त हुन जग्गा धितो राखेर बैंकबाट १४ लाख ऋिण लियो । तर, बैंकको ब्याज तिर्न सक्ने अवस्था पनि भएन । त्यत्रो पढेर पनि बेरोजगारी बस्नुपर्ने, अर्कोतिर ऋणले थिच्दै जाने अवस्थाले ऊ मानसिक रूपमा कमजोर बन्दै गएको थियो,’ रामएकबालले भने ।

बैंकबाट लिएको ऋणले पनि गाउँका महाजनको सबै ऋण चुक्ता भएको थिएन । महाजन र बैंकको गरी अहिले पनि ३० लाखभन्दा बढी ऋण रहेको परिवार स्रोत बताउँछ । आफूलाई पढाउन परिवारले लाखौँ लगानी गरे पनि बेरोजगारीका कारण आफूले परिवारको अपेक्षा पूरा गर्न नसकेको पीडा विवेकमा रहेको काका हजुरबुबा रामएकबाल बताउँछन् । उनका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा विवेक रास्वपामा सक्रिय भएर लागेका थिए । 

‘पढाइमा परिवारले ठुलो लगानी गर्‍यो, तर भनेजस्तो रोजगारी पाएन । केही वर्ष महोत्तरीमा कलेज पढाएको पनि थियो, पछि के भएर हो छाडेछ,’ रामएकबालले भने, ‘गत निर्वाचनमा रास्वपामा लागेर हिँडेको देखेको थिएँ । पछि के भयो थाहा भएन ।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार विवेकको ९० प्रतिशत शरीर जलेको छ ।

विवेकका काकाहजुरबुबा रामएकवाल मण्डल भन्छन्–३० लाखभन्दा बढी ऋण छ भन्थ्यो, प्रायः तनावमा देखिन्थ्यो
विवेक पढाइमा तेज थियो । काठमाडौंमा एमएस्सी पढ्दा पनि कलेजमा एक नम्बरमै नाम निकालेको थियो । उसलाई पढाउँदा परिवारलाई ठुलै ऋण लाग्यो । पढेपछि रोजगारी मिल्ला, कमाएर तिरिएला भन्ने आस ऊसँग थियो, तर रोजगारी मिलेन । बैंकको मात्रै १४ लाख ऋण थियो, चर्को ब्याजमा साहुमहाजनसँग लिएको समेत गरी ३० लाखभन्दा बढी ऋण छ भन्थ्यो । त्यत्रो पढेर पनि बेरोजगारी बस्नुपर्दा र ब्याज पनि तिर्न नसक्दा केही महिनादेखि ऊ निकै तनावमा देखिन्थ्यो । 

बुद्धनगरमा ५२ वर्षीय अश्विन राउतले गरे आत्मदाह
बुद्धनगरनिवासी अश्विन राउतको परिवार शनिबार आमाको श्राद्ध गर्ने तयारीमा थिए । सोही प्रयोजनका लागि परिवारका सदस्य घरमा भेला हुँदै थिए । त्यही वेला ५२ वर्षीय अश्विनले आफैँमाथि पेट्रोल खन्याएर आगो सल्काए । श्राद्ध गर्ने सुरमा रहेका राउत परिवार एकाएक शोकमग्न बन्न पुग्यो । केहीबेरमै वीर अस्पताल पुर्‍याइएका उनको उपचारकै क्रममा ज्यान गयो ।

अश्विनकी फुपू राधा कार्कीका अनुसार परिवारमा केही समस्या थिएन । आर्थिक रूपमा पनि सम्पन्न नै थियो, तर उनको यस्तो निर्णयका पछाडिको कारण खुल्न सकेको छैन । बुद्धगरस्थित निवासमा भेटिएकी राधाले भनिन्, ‘अश्विनको आर्थिक अवस्था राम्रै छ । हेटौँडामा तारजालीको कारखाना छ । जग्गा–जमिन पनि प्रशस्त छ । परिवारभित्र पनि खासै समस्या देखिन्न । तर, उनले किन यस्तो गरे बुझ्न सकिएको छैन ।’

राधाका अनुसार आमाको श्राद्ध गर्न अश्विन शुक्रबारदेखि नै तयार थिए । पण्डितलाई उनैले खबर गरेका थिए । सैलुनमा गएर कपाल पनि कटाएका थिए । योजनाअनुसार अश्विन शनिबार बिहानै उठे । बाथरुममा छिरेर नुहाए । उनी भान्छाकोठा छिरे । बाथरुममा उनकी श्रीमती डिम्पल राउत छिरिन् । डिम्पल बाथरुममा नुहाउँदै थिइन् ।

अश्विन भने भान्छाकोठाबाट निस्किएर पार्किङ गरिराखेको स्कुटरनजिक पुगे । बोतलबाट पेट्रोल झिके, लिएर सरासर भन्छाकोठामा छिरे । पेट्रोल शरिरमा खन्याएर आगो सल्काए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

फुपू कार्कीका अनुसार अश्विन जन्मजात नशाको बिरामी थिए । हिँडडुलमा समस्या हुने उनले गत वर्ष मंसिरमा दिल्लीमा उपचार गराएपछि सहज भएको थियो । तर, केही महिनादेखि उनको स्वभावमा केही बदलाव देखा परेपछि श्रीमती र छोरा आर्यनले उपचारका लागि अस्पताल जान भनेका थिए । तर, उनी जान मानिरहेका थिएनन् । 

गणेश नेपालीलाई सहिद घोषणा गर्न माग : परिवारले बुझेनन् शव, दुई दिनसम्म हुन सकेन पोस्टमार्टम
महानगर प्रहरीसँगको विवादपछि शरीरमा आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीलाई सहिद घोषणा गर्न उनको परिवारले माग गरेको छ । सरकारी प्रतिनिधिसँग भएको छलफलमा परिवारका सदस्यले सहिद घोषणालगायत माग राखेका छन् ।

नेपालीका आमा–बुबासमेत शुक्रबार मुगुबाट काठमाडौं आइपुगेका थिए । आमा–बुबालगायत परिवारका सदस्यसँग शुक्रबारै जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । छलफलमा सहिद घोषणा, दोषीलाई कारबाही, राहत, रोजगारीलगायत विषयमा छलफल भएको थियो । मागमा सरकारी पक्ष सकारात्मक भए पनि लिखित सहमति नहुँदा परिवारले शनिबारसम्म शव बुझेका छैनन् ।

गणेशको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तर, पोस्टमार्टमका लागि पनि परिवारले सहमति दिएको छैन । शनिबार पनि पीडित र सरकारी पक्षबिच अनौपचारिक छलफल भएको स्रोत बताउँछ । त्रिपुरेश्वरको राहदानी विभागअगाडि ‘नो पार्किङ’मा मोटरसाइकल पार्किङ गरेको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्विल लक’ गरेको थियो ।

सोही विषयमा नगर प्रहरी र गणेशबिच विवाद भएको थियो । त्यसको करिब डेढ घण्टापछि उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किई आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो ।

See More On

सुझावित समाचार