भुक्तानीको अन्तिम दिनसम्म ४४.५१ प्रतिशत मात्रै पुँजीगत खर्च

बिहीबार एकै दिनमा ३३ अर्ब १६ करोड निकासा, राजस्व संकलन १२ खर्ब नाघ्ने अर्थको अनुमान

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८२/८३ मा भएको २३ र २४ भदौको जेन–जी आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै विकास खर्चसमेत प्रभावित भएको छ । खासगरी २१ फागुनको निर्वाचनपछि सरकार परिवर्तनसँगै राजनीतिक कोर्समा आएको परिवर्तनपछि पनि विकास निर्माणकेन्द्रित पुँजीगत खर्च कमजोर नै देखिएको हो ।

गत आर्थिक वर्ष ०८१/८२ को २५ असारसम्म पुँजीगत खर्च ५९.१३ प्रतिशत थियो । तर, चालू आवको सोही अवधिमा पुँजीगत खर्च ४४.५१ प्रतिशतमा सीमित भएको छ । यद्यपि, विगतमा झैँ यसपालि आर्थिक वर्षको अन्तिम भुक्तानी हुने दिनमा खर्चमा चाप भने बढेको छ । अन्तिम दिन बिहीबार एकै दिनमा ३३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । २५ असारसम्ममा कुल बजेट खर्च १५ खर्ब ६५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यो कुल विनियोजनको ७९.६९ प्रतिशत हो ।

पुँजीगततर्फ एक खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ । कुल पुँजीगततर्फको विनियोजनको ४४.५१ प्रतिशत हो । सरकारले यो वर्ष चार खर्ब सात अर्ब ८८ करोड पुँजीगत खर्च गर्ने अनुमान गरेको थियो । बिहीबार एकै दिनमा पुँजीगततर्फ १८ अर्ब ३९ करोड खर्च भएको थियो । चालूतर्फ १० खर्ब ४२ अर्ब ८४ करोड खर्च भएको छ । यो कुल ११ खर्ब ८० अर्ब ९८ करोडको विनियोजनमा ८८.३ प्रतिशत खर्च भएको हो । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । त्यसैले २५ असारमा भुक्तानीको चाप बढेको देखिन्छ ।

बजेट रोक्काले पुँजीगत खर्च थप प्रभावित
आयोजना छनोटमा मापदण्ड पालना नभएको र राजनीतिक दबाबमा विनियोजन गरिएको भन्दै तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रस्तावमा मन्त्रिपरिषद्को ५ असोजको बैठकले ५३ वटा टुक्रे तथा तयारी नपुगेका आयोजनामा विनियोजित एक खर्ब १४ अर्ब ५३ करोड रुपैयाँ बजेट रोक्का गरेको थियो । खासगरी जेन–जी आन्दोलनका क्रममा ध्वंस भएका सरकारी भवनको पुनर्निर्माणका लागि स्रोत जुटाउन भन्दै रोक्का गरिएको थियो । पछि विषयगत मन्त्रालयहरूको आग्रहमा पुँजीगत बजेटतर्फको रोक्का गरिएको एक खर्ब १४ अर्ब ५३ करोडमध्ये १५ माघसम्म ४२ अर्ब ६८ करोड फुकुवा भएको थियो । 

राजस्व १२ खर्ब नाघ्ने अर्थको अनुमान
चालू आर्थिक वर्ष सकिन सात दिन बाँकी रहँदा ११ खर्ब ७५ अर्ब ८७ करोड राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको ७९.४५ प्रतिशत हो । यो वर्ष १२ खर्बभन्दा बढीको राजस्व संकलन गर्ने अर्थ मन्त्रालयको अनुमान छ ।

खासगरी नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने लाभांशलगायतका प्राप्तिले राजस्व संकलन बढ्ने अनुमान गरिएको छ । २५ असारसम्ममा कर राजस्वतर्फ १० खर्ब ६३ अर्ब ६ करोड संकलन भएको छ । गैरकरतर्फ एक खर्ब १२ अर्ब उठेको छ । 

सुझावित समाचार