कालो चस्मा खोलेर नागरिकको पीडा हेर्न सांसद थपलियाको प्रधानमन्त्रीलाई आग्रह

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

सांसद सीता थपलियाले प्रधानमन्त्री बालेन्द्र शाहलाई बानेश्वरमा प्रेम आचार्यले आत्मदाह गर्दा आफूले लेखेको सामाजिक सञ्जालको स्टाटस सम्झन आग्रह गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छिन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर रहेका वेला प्रेम आचार्यको आत्मदाहपछि बालेनले उठाएका प्रश्नहरू अहिले प्रधानमन्त्रीका रूपमा आफैँले जवाफ दिनुपर्ने अवस्था आएको बताइन्।

 ‘गणेश नेपालीको मृत्युले म भावविह्वल छु, प्रधानमन्त्री मौन हुनुहुन्छ। हिजो प्रश्न गर्ने तपाईं अहिले कहाँ हुनुहुन्छ ? तपाईंकै भाषामा सोध्न चाहन्छु– के राज्य निरीह र असफल भएको हो ? के आफ्ना पीडा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था हुन्छ ?’ उनले सोधिन्।

थपलियाले यस्ता हृदयविदारक घटना पटक–पटक दोहोरिनु राज्यको असफलताको संकेत भएको उल्लेख गर्दै बालेन सरकारको शासनमा गरिब र दैनिक ज्यालादारी गरेर खाने नागरिकको जीवन थप कष्टकर बनेको आरोप लगाइन्।

उनले मेयर हुँदा गरिबका साइकल जफत गरी नष्ट गर्ने र प्रधानमन्त्री भएपछि सुकुनवासीका घर भत्काउने, तर उचित व्यवस्थापन नगर्ने भन्दै आज दैनिक मजदुरी गरेर खाने मान्छे बाँच्न नसक्ने बनाइएको आरोप लगाइन् । यो सहर आखिर कसका लागि हो ?  भन्दै प्रश्न गरिन्।

प्रधानमन्त्रीलाई अब कालो चस्मा खोल्न आग्रह गर्दै उनले सिंहदरबारका प्रतिवेदनले मात्रै नभई सडकमा छरिएका नागरिकका पीडाले देशको वास्तविकता देखाउने टिप्पणी गरिन्।

साझा बसको हरियो रङमा निलो पोत्दैमा नागरिकले सुरक्षा महसुस नगर्ने भन्दै उनले सरकारलाई नागरिकका वास्तविक समस्या समाधानतर्फ ध्यान दिन आग्रह गरिन्।

सुझावित समाचार