नेकपा एमालेले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाएको छ । महासचिव शंकर पोखरेलले कार्यदलमा पार्टीका तर्फबाट डा. भीम अधिकारी प्रारम्भिक चरणमा सहभागी भए पनि कार्यदलको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् ।
कार्यदलको सुरुदेखिकै कामकारबाही सन्देहास्पद रहेको, संविधान संशोधनका विषय स्पष्ट रूपमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा छलफलमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको एमालेको निष्कर्ष छ ।
एमालेले यी विषयमा सरकारसँग स्पष्ट धारणा माग गरे पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको जनाएको छ । नेकपा, जसपा, लोसपा र राजमोले सामूहिक रूपमा पत्र पठाउँदै कार्यदलको बैठकमा सहभागी हुन नसक्ने बताइसकेका छन् ।