एएसी ब्लक उत्पादक कम्पनी मेची इन्डस्ट्रिज लिमिटेड र भारतको प्रतिष्ठित प्रविधिप्रदायक कम्पनी लक्ष्मी इनफ्याब प्राइभेट लिमिटेडबिच उत्पादन क्षमता अभिवृद्धिका लागि सम्झौता भएको छ । यसबमोजिम मेची इन्डस्ट्रिजले आफ्नो उत्पादन क्षमतामा प्रतिमहिना पाँच हजार क्युबिक मिटर एएसी ब्लक थप उत्पादन गर्ने भएको छ ।
क्षमता अभिवृद्धिसँगै उत्पादन विस्तार गर्ने रणनीतिअनुरूप मोटार एडेसिभ, रेडिमिक्स प्लास्टर, टाइल एडेसिभ तथा वालपट्टी उत्पादनका लागि आवश्यक आधुनिक प्लान्ट तथा उपकरण खरिद गर्ने निर्णय गरी सम्बन्धित आपूर्तिकर्तासँग खरिद सम्झौतासमेत गरेको छ । यस साझेदारीले दिगो विकास, अत्याधुनिक प्रविधि र निर्माण क्षेत्रमा बलियो उत्पादन क्षमताको साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताइएको छ । द्विपक्षीय साझेदारीले नेपाल र भारतबिचको औद्योगिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।
साथै, कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुदृढ बनाउने दीर्घकालीन रणनीतिअन्तर्गत तीनवटा महŒवपूर्ण प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले आइएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणाली, १४००१ः२०१५ वातावरणीय व्यवस्थापन प्रणाली र ४५००१ः२०१८ व्यावसायिक स्वास्थ्य एवं सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको हो ।
कम्पनीका अध्यक्ष पवन घिमिरेका अनुसार यो उपलब्धिले कम्पनीको उत्पादकत्वमा गुणस्तर, संस्थागत सुशासन, वातावरणीय जिम्मेवारीलाई थप विश्वव्यापी मान्यताका साथ प्रमाणित गरेको छ ।