गणेश नेपालीकाे आत्मदाह घटनामा प्रहरीद्वारा ट्राफिक कारबाही जोडिएको दाबी खण्डन

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगु जिल्ला सोरु गाउँपालिका– १ का २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटनासँग ट्राफिक प्रहरीले जरिवाना (फाइन) तिराएको भन्ने दाबी पूर्णतः तथ्यहीन र भ्रामक रहेको जनाएको छ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा कार्यालयले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले जरिवाना गरेकै कारण आत्मदाहको प्रयास भएको भन्ने सामग्रीहरू प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

प्रहरीका अनुसार घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनबाट गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नगरेको र उक्त घटनाको ट्राफिक कारबाहीसँग कुनै सम्बन्ध नरहेको स्पष्ट भएको छ।

कार्यालयले घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीमार्फत कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको जानकारी दिँदै आधिकारिक पुष्टि नभएका सूचना तथा सुरक्षा निकायको नाम जोडेर गरिने प्रचारप्रसारले आमनागरिकमा भ्रम सिर्जना गर्ने भएकाले त्यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।

साथै, अनुसन्धानको वस्तुनिष्ठ निष्कर्ष सार्वजनिक नहुँदासम्म कपोलकल्पित समाचार वा अपुष्ट सामग्री प्रसारण नगर्न तथा आधिकारिक तथ्यलाई मात्र आधार मानी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारणलाई ट्राफिक प्रहरीले अपिल गरेको छ।

उक्त विज्ञप्तिमा सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीको हस्ताक्षर रहेको छ।

सुझावित समाचार