मिटरब्याजपीडित फेरि ‘काठमाडौं मार्च’मा, पुराना सम्झौता कार्यान्वयन गर्न माग

काठमाडौं पुगेपछि धर्ना दिँदै पुराना सम्झौता कार्यान्वयनको माग गरिने

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण
मिटरब्याजपीडित फेरि ‘काठमाडौं मार्च’मा, पुराना सम्झौता कार्यान्वयन गर्न माग

जनकपुरधामको तिरहुतियागाछीबाट बिहीबार सुरु भएको मिटरब्याजपीडितहरूको ‘काठमाडौं मार्च’ ।

आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मिटरब्याजपीडितले बिहीबार जनकपुरधामबाट ‘काठमाडौं मार्च’ थालेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले गत चुनावताका आफ्नो पहिलो चुनावी सभा तिरहुतियागाछीबाट गरेको वाचा सम्झाउन भन्दै उनीहरू १५ दिने पैदल मार्चमा काठमाडौंतर्फ लागेका हुन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा सुरु भएको मार्चमा पाँच सय मिटरब्याजपीडित सहभागी छन् । सरकारले मिटरब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ ।

पीडितले राहत पाउनुपर्नेमा धेरै पीडित अझै पनि मुद्दा, लिलामी र धम्कीको चपेटामा परेको मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका महासचिव नवीन निर्घले बताए । ‘तेस्रोपटक काठमाडौं जाँदै छौँ । हामीलाई अब आश्वासन होइन, न्याय चाहिएको छ,’ उनले भने । मिटरब्याजलाई सामान्य आर्थिक लेनदेनका रूपमा मात्र हेर्दा समस्या समाधान हुन नसक्ने उनको भनाइ छ । ‘यो गरिबमाथि हुने वित्तीय सामन्तवाद र मानसिक हिंसा हो । यसको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै ग्रामीण क्षेत्रमा सहज बैंकिङ पहुँच विस्तार गर्नुपर्छ,’ निर्घले भने ।

प्रशासनिक उदासीनता, कार्यान्वयन संयन्त्रको कमजोरी तथा स्थानीय तहमा साहुकारहरूको राजनीतिक र आर्थिक प्रभावका कारण पीडितले अझै न्याय पाउन नसकेको उनको आरोप छ ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुसवाहाले यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीडित जोडिने बताए । काठमाडौं पुगेपछि धर्ना दिँदै सरकारसँग तत्काल पुराना सम्झौता कार्यान्वयनको माग गरिने उनले बताए ।

‘हामीले आन्दोलन सुरु गरेका छौँ । बाटोमा अरू साथीहरू पनि जोडिँदै जानुहुन्छ,’ उनले भने, ‘हरेकपटक सम्झौता हुन्छ, तर कार्यान्वयन हुँदैन । यही कारण समस्या जस्ताको तस्तै छ । यसपालि नयाँ सम्झौता होइन, पुरानै सम्झौताको कार्यान्वयनको प्रतिबद्धता लिन्छौँ ।’

मिटरब्याजपीडितहरूले ०७९ देखि पटक–पटक काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन् । मधेशका मिटरब्याजपीडितहरूले सरकारलाई दबाब दिन २ चैत ०७९ मा बर्दीबासबाट पैदल मार्च सुरु गरेका थिए । मिटरब्याजपीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानको नेतृत्वमा ७२ जना पीडित ११ दिन पैदल हिँडेर काठमाडौं पुगेका थिए । रास्वपा सभापति रवि लामिछाने त्यतिवेला १४ चैत ०७९ मा धर्नास्थल टंगाल पुगेर सरकारले पीडितको माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए । तर, अहिले दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको दलका सभापति लामिछाने मिटरब्याजपीडितको विषयमा मौन रहेको निर्घको आरोप छ । त्यसवेला आन्दोलन चर्किएपछि १८ चैतमा सरकारी वार्ता टोली र मिटरब्याजपीडित संघर्ष समितिबिच पाँचबुँदे सहमति भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने, मिटरब्याजलाई कसुर घोषणा गर्ने तथा पीडितलाई न्याय दिने सहमति गरेको थियो ।

लगत्तै सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआइजी उत्तमबहादुर सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।

जनकपुरमा आयोगको कार्यालय स्थापना गर्दै तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै पीडितले न्याय पाउने आश्वासन दिएका थिए । आयोगमा २८ हजारभन्दा बढी उजुरी परेका थिए । तीमध्ये करिब १५ हजार उजुरीमाथि छानबिन भए पनि पाँच हजार पाँच सय मात्र फर्स्योट भएका थिए । अधिकांश उजुरीमा भने सुनुवाइ नै नभएको मिटरब्याजपीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले बताए ।

त्यसपछि दोस्रोपटक १६ माघ ०८० मा मेची र महाकालीबाट एकैपटक पैदल मार्च गर्दै मिटरब्याजपीडित काठमाडौं पुगेका थिए । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुसवाहाको नेतृत्वमा करिब चार सय पीडितले आन्दोलन गरेका थिए । त्यसपछि २८ फागुनमा सरकार र पीडितबिच चारबुँदे सहमति भएको थियो । 

९ चैत ०८० मा सरकारले दोस्रोपटक पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । यस आयोगमा ३२ हजार उजुरी परे पनि ती उजुरीको प्रभावकारी फर्स्योट हुन नसकेको अध्यक्ष कुसवाहाको दाबी छ । संघर्ष जारी रहेपछि २८ फागुन ०८१ मा सरकारले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा तीनसदस्यीय अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । त्यसवेला करिब १० हजार उजुरी परे पनि कार्यान्वयन नभएको अध्यक्ष मनोज पासवान बताउँछन् ।

यसअघि १ असोज ०७९ मा सरकारले गृह मन्त्रालयका तत्कालीनन सहसचिव भीष्मकुमार भुसालको नेतृत्वमा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल पनि गठन गरेको थियो । रामसुरत गुप्ताको नेतृत्वमा भएको आन्दोलनको दबाबपछि बनेको उक्त कार्यदलमार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भए पनि अधिकांश उजुरीको टुंगो लाग्न सकेन ।

मिटरब्याजपीडितका ६ सूत्रीय माग
मिटरब्याजपीडितले मिटरब्याजसँग सम्बन्धित तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन, चेकलगायत सबै फर्जी लिखत मन्त्रिपरिषद्को निर्णयबाट अवैध घोषणा गरी खारेज गर्न माग गरेका छन् ।

त्यस्तै, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी विशेष ऐन निर्माण गरी कार्यान्वयन गर्न, मिटरब्याजसम्बन्धी मुद्दा छिटो टुंग्याउन विशेष न्यायाधिकरण गठन गर्न तथा फर्जी मुद्दाको पुनरावलोकन गरी पीडितमैत्री न्यायिक संयन्त्र स्थापना गर्न माग गरेका छन् ।

साहुमहाजनले अवैध रूपमा आर्जन गरेका सम्पत्तिको छानबिन गरी गैरकानुनी सम्पत्ति जफत गर्न, बैंक कारोबारका आधारमा अनुसन्धान गर्न, पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही गर्न तथा क्षतिपूर्ति र सम्पत्ति फिर्ता प्रक्रियालाई सहुलियतपूर्ण बनाउनुपर्ने उनीहरूको माग छ । त्यसैगरी शोषित, उत्पीडित तथा साना व्यवसायीका लागि सहज ऋण, वित्तीय पहुँच र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्ने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् ।

मिटरब्याजपीडितका वेदना
सुनसरीको गढी गाउँपालिका– ४ की अनिता चौधरी घरवारविहीन छिन् । चौधरीले केही वर्षअघि स्थानीय साहुकार भाग्यनारायण चौधरीसँग दुई लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋणको धितोस्वरूप पौने चार कठ्ठा जग्गा साहुकारको नाममा पास गरिन् । उनले लिएको ऋणभन्दा बढी अर्थात् दुई लाख २० हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमार्फत साहुकारको खातामा जम्मा गरिन् । त्यसको प्रमाण उनीसँग सुरक्षित छ । तर, उनले अहिलेसम्म जग्गा फिर्ता पाएकी छैनन् ।

जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि भएको छलफलमा साहुकार चौधरीले जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाए । तर, अहिलेसम्म त्यसको कार्यान्वयन भएन । उल्टै जग्गा फिर्ताको ताकेता गर्दा आफूमाथि अभद्र व्यवहारको मुद्दा लगाएर १४ दिन थुनामा राखिएको अनिताको आरोप छ । ‘पैसा तिरेको प्रमाण हुँदाहुँदै पनि न्याय पाइएन,’ उनी भन्छिन्, ‘घरबार पनि गुम्यो, मानसिक पीडा पनि सहनुपर्‍यो । त्यसैले फेरि आन्दोलनमा आउन बाध्य भएका छौँ ।’

महोत्तरीको सीतापुर भंगहा नगरपालिका– ८ का ६५ वर्षीय बसिर शेष नक्कली तमसुकको विवादमा परेर विगत १५ वर्षदेखि अदालत धाइरहेका छन् । उनका अनुसार ०६८ मा उनका बुबा ताहिर शेषले स्थानीय सुरज साहसँग ५० हजार रुपैयाँ ऋण लिएका थिए । ऋणको तमसुकमा आफू केवल साक्षीका रूपमा बसेको उनले बताए ।

‘ऋण चुक्ता हुनुअघि नै बुबाको निधन भयो,’ बसिर भन्छन्, ‘बुबा जीवित रहँदाकै अवस्थामा अंशबन्डा भएर म छुट्टै बस्न थालेको थिएँ । हामी चार दाजुभाइ छौँ । तर, साहुकारले साक्षी बसेकै आधारमा ममाथि मात्र लेनदेनको मुद्दा दायर गरे ।’ उनका अनुसार उक्त मुद्दामा जिल्ला अदालतले बसिरको सम्पत्तिमा कुनै दायित्व नलाग्ने भन्दै उनको पक्षमा फैसला गरेको थियो । तर, त्यसपछि साहुकार सुरजले आफ्नो नाममा नक्कली तमसुक तयार गरी पुनः मुद्दा दायर गरेको उनको आरोप छ । दोस्रो मुद्दामा भने जिल्ला अदालतले साहुको पक्षमा फैसला गरिदियो । 

त्यसपछि उक्त फैसलाविरुद्ध उनले जनकपुरधामस्थित उच्च अदालतमा रिट दायर गरे । तर, उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गर्दै साहुको पक्षमा निर्णय गरेको उनले बताए । ‘मैले अदालतमा पटक–पटक तमसुक नक्कली भएको र त्यसमा मेरो औँठाछाप नभएको भन्दै वैज्ञानिक परीक्षण गराउन आग्रह गरेँ । तर, मेरो माग सुनुवाइ भएन । बरु मेरो नौ कट्ठा जग्गा साहुको नाममा नामसारी गर्न आदेश भयो,’ उनले सुनाए । हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उनले बताए । साहुकार सुरजको केही वर्षअघि निधन भइसकेको छ । हाल उनकी छोरी उषादेवी साहले मुद्दा लडिरहेकी छिन् ।

बसिरले आफूले ऋण नलिएको, केवल साक्षी बसेकै आधारमा करिब दुई करोड रुपैयाँबराबरको आफ्नो सम्पत्तिमाथि दाबी गरिएको आरोप लगाए । उनले नक्कली तमसुकको विवादका कारण हालसम्म ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको पनि बताए ।

त्यसैगरी, धनुषाको मिथिला बिहारी नगरपालिका–७ की राजकुमारी देवीको अनुभव पनि उस्तै छ । छोरालाई वैदेशिक रोजगारीमा पठाउन लिएको अढाई लाख रुपैयाँ ऋण तीन वर्षपछि सात लाख रुपैयाँसहित फिर्ता गर्न खोज्दा पनि साहुकारले पैसा लिन नमानेको उनको भनाइ छ । अहिले अदालतमार्फत उनको १० धुर जग्गा लिलामी प्रक्रियामा छ । ‘पैसा तिर्न खोज्दा पनि लिँदैनन् । अब घरजग्गा नै गुमेपछि हामी कहाँ जाने ?’ भावुक हुँदै उनले प्रश्न गरिन् ।

त्यस्तै समस्या झेलिरहेकी छिन्, जनकपुरधाम उपमहानगरपालिका– १६ कपिलेश्वरकी कुशमीदेवी मलिक डोम । उनले छोरीको विवाहका लागि दुई लाख रुपैयाँ ऋण साहुकारसँग लिएकी थिइन् । श्रीमान्ले वैदेशिक रोजगारी गरेर कमाएको रकमबाट उनले ऋण तिर्न पटक–पटक प्रयास गरिन् । पहिले ६ लाख र पछि सात लाख रुपैयाँ लिएर जाँदा पनि साहुकारले रकम लिन नमानेको उनको दाबी छ । त्यसपछि साहुकारले मुद्दा हालेर माइती गाउँमा रहेको नौ धुर जग्गा र घडेरी लिलाम गराएको उनको आरोप छ ।

‘म अहिले पनि पैसा तिर्न तयार छु,’ उनी भन्छिन्, ‘तर, उनीहरू पैसा लिन चाहँदैनन् । उनीहरूको नियतमै खोट छ । कागजको म्याद सकिएपछि जग्गा हत्याउने काम भइरहेको छ ।’
 

सुझावित समाचार