नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि आवेदन दिएका ११ मध्ये ६ जनाको ‘सर्टलिस्ट’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीमा झिमरुक गाउँपालिका–४, प्युठानका छविराज पोख्रेल छन्। उनी हाल पूर्वाधार विकास प्राधिकरण, लुम्बिनी प्रदेशको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। त्यहाँ उनले एकवर्षे कार्यकाल पूरा गरेर गत जेठमा पुनः दोस्रो कार्यकालका लागि नियुक्ति लिएका छन्। पोख्रेल इन्जिनियरिङ एसोसिएसनको पूर्वमहासचिव पनि हुन्।
सूचीमा रहेका नौबहिनी गाउँपालिका–६, प्युठानका कौशल केसी पेसाले इन्जिनियर हुन्। उनी निजी इन्जिनियरिङ कम्पनीमार्फत सरकारी तथा गैरसरकारी परियोजनाहरूमा परामर्शदाताको रूपमा काम गरिरहेका छन्।
त्यस्तै, राजबिराज नगरपालिका–१३, सप्तरीका संजीवकुमार देव व्यावसायिक घराना विशाल ग्रुपमातहतको पूजा कन्स्ट्रक्सन प्रालिमा कार्यरत छन्। उक्त कम्पनी नेपालका लागि कोबेल्को ब्रान्डको ‘हेभी इक्विपमेन्ट’को अधिकृत बिक्रेता हो।
नगराइन नगरपालिका–३, धनुषाका सिए नागेन्द्र शाह आयल निगमको पूर्वकर्मचारी हुन्। उनले निगमको निमित्त कार्यकारी निर्देशकबाट गत २५ जेठमा मात्रै अवकाश लिएका थिए। उनले आयल निगममा रहँदा नियमित लेखा परीक्षण गर्न योगदान पुर्याएका थिए।
मन्त्रालयले सार्वजनिक गरेको सूचीमा एकडारा गाउँपालिका–६, महोत्तरीका सरोजकुमार शर्मा पनि छन्। उनी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवका छिमेकी हुन्। त्यस्तै, राजविराज–२, सप्तरीका दीपेन्द्रकुमार देव सरकारी शिक्षा परियोजनामा काम गरेका इन्जिनियर हुन्।
उद्योग मन्त्रालयका अनुसार संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको एक सातापछि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण हुनेछ। त्यसपछि ३ जनाको नाम छनोट गरेर मन्त्रिपरिषदमा नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रालयको तयारी छ। मन्त्रिपरिषद्ले सिफारिस भएका ३ मध्ये एकलाई आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान छ।
