कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाली लगाउने मुख्य याममा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन मन्त्रालय हरसम्भव प्रयासरत रहेको बताएकी छिन्।
मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पूरा भएको अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको जानकारी दिइन्।
‘मलको कृत्रिम अभाव, कालोबजारी र बिचौलियाको चलखेल रोक्न छड्के अनुगमन तथा ‘स्टिङ’ अपरेसन अघि बढाएका छौँ,’ उनले भनिन्, ‘किसानका गुनासा तत्काल सुन्ने, सम्बन्धित निकायलाई निर्देशन दिने र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका छौँ।’
चालू आर्थिक वर्षमा चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ हजार ७१६.४५ मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेसनबाट ३५ हजार ४७८.१० मेट्रिकटन अनुदानित रासायनिक मल बिक्री-वितरण गरिएको मन्त्री चौधरीले जानकारी दिइन्।
साथै, दुवै कम्पनीबाट गत चैतयता तीन लाख ५० हजार मेट्रिकटन (जिटुजीको ५० हजार मेट्रिकटनसमेत)मलको बोलपत्र आह्वान गरिएको छ। आगामी साउन महिनाभित्र थप दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने प्रकिया अगाडि बढाइएको उनले बताइन्।