हिरासतबाट फरार लागुऔषध मुद्दाका अभियुक्त चार दिनपछि पक्राउ

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

लागुऔषध (खैरो हेरोइन)सम्बन्धी मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट फरार भएका एक अभियुक्तलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका– २, राजीपुर निवासी ३१ वर्षीय सञ्जय नगार्जी रहेका छन्। उनलाई ०८३ असार ९ गते लागुऔषध (खैरो हेरोइन) मुद्दामा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको थियो।

प्रहरीका अनुसार नगार्जी ०८३ असार २१ गते राति करिब १२ बजे इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट फरार भएका थिए। घटनापछि फरार अभियुक्तको खोजीमा खटिएको प्रहरी टोलीले मिति ०८३ असार २५ गते बिहान १०:१५ बजे टीकापुर नगरपालिका– ४ स्थित अस्नेरी चोक क्षेत्रबाट उनलाई पुनः पक्राउ गरेको हो।

पक्राउ परेका नगार्जीमाथि लागुऔषध मुद्दासँगै हिरासतबाट फरार भएको घटनासम्बन्धी कानुनी प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार