नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक हप्ताभित्र छलफलमार्फत टुंग्याएर पार्टी एकता बचाउन राखेको पाँचबुँदे मध्यमार्गी प्रस्तावको समयसीमा बिहीबार सकिँदै छ ।
महामन्त्री गुरु घिमिरेले कोइरालाको प्रस्तावलाई पदाधिकारी बैठकले अल्टिमेटमका रूपमा नभएर पार्टी एकता बचाउनुपर्ने सकारात्मक भावले प्रकट भएकाले सभापतिकै नेतृत्वमा छलफल गर्ने निर्णय भएको बताए ।
‘डाक्टरसापले पाँचबुँदे मध्यमार्गी प्रस्ताव राखेर एकता जोगाउन पुलको काम गर्नुभएको हो, उपसभापतिलाई तपाईंकै नेतृत्वमा सबै पक्ष समेटेर सहमतिको बुँदा तयार गर्ने गृहकार्य गर्नुस्, आवश्यक परे म पनि नाम दिन सक्छु भन्नुभएको थियो,’ कोइरालालाई उद्धृत गर्दै उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘सभापतिसँग सल्लाह गरेर जवाफ दिन्छु भने पनि केही प्रगति नभएकाले उहाँहरूले त्यति गम्भीरतापूर्वक लिएजस्तो देखिएको छैन ।’
कोइराला अहिले कामको सिलसिलामा विराटनगरमै छन् । पार्टी एकताको सन्दर्भमा कुराकानी गर्नुपर्ने आवश्यकता देखिए उनी तत्काल काठमाडौं आउने मुडमा रहेकोसमेत थपलियाले बताए ।