विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोह पक्राउ

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोह पक्राउ परेको छ। विराटनगरको महेन्द्र चोकमा रहेको एक फोटो स्टुडियोबाट नक्कली नागरिकता बनाएर विक्रि गर्ने गिरोह बुधबार पक्राउ परेको हो।

पक्राउ पर्नेहरुमा विराटनगर–११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठ र विराटनगर–५ का ३८ वर्षीय धनदेव राजवंशी छन्। पक्राउ परेका राजवंशी र श्रेष्ठले विराटनगरको महेन्द्र चोकमा न्यू डोली फोटो सर्भिसेज नामको फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए। उनीहरुले सोही स्टुडियोमा सम्पर्कमा आएका व्यक्तिको नक्कली नागरिकता  बनाउने गरेको  प्रहरीको भनाइ छ।

सक्कली नागरिकता बनाइदिने भन्दै ग्राहक खोज्ने काम राजवंशीले गर्ने गरेका थिए भने डिजाइन गरेर नक्कली नागरिकता बनाउने काम श्रेष्ठले गर्दथे। राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका एक सेवाग्राहीको नागरिकता नक्कली पाइएपछि मोरङका सिडिओ युवराज कट्टेलको निर्देशनमा गिरोह खोज्दा विराटनगरमै रहेको फेला परेको हो। 

पक्राउ परेकाहरुले हालसम्म एक दर्जन नक्कली नागरिकता बनाएर एक देखी डेढ लाख रुपैयाँसम्ममा विक्रि गरिसकेको प्रहरीलाई बयान दिएका छन्। प्रहरीले नक्कली नागरिकता बनाउने स्टुडियोमा छापा मारेर दश थान नक्कली नागरिकता, कागजात र उपकरणहरु नियन्त्रणमा लिएको छ।

गिरोहले सरुवा भैसकेका जिल्ला प्रशासनका प्रशासकीय अधिकृतहरुको हस्ताक्षर प्रयोग गरेर २०६८ देखि २०८२ सम्मको मिति राखेर नक्कली नागरिकता बनाउने गरेका थिए। सक्कली नागरिकता बनाइदिने भनेर गिरोहले सेवाग्राहीसँग आवश्यक कागजातहरु भने सक्कली लिएर विवरण भरिदिने गर्थे।

सुझावित समाचार