- पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेकी छोरी तथा वर्तमान उपराष्ट्रपति सारा दुतेर्तेले आफूमाथि लगाइएका सबै आरोपको खण्डन गर्दै आएकी छिन्
साेमबारदेखि फिलिपिन्सकी उपराष्ट्रपति सारा दुतेर्तेको महाभियोगको मुद्दा अघि बढेको छ । यस मुद्दाको अन्तिम टुंगो लागेसँगै सन् २०२८ को राष्ट्रपति चुनावमा सारा उम्मेदवार हुन सक्छिन् कि सक्दिनन् भन्ने कुराको पनि निर्धारण हुनेछ । देशमा बढ्दो भ्रष्टाचारविरुद्ध बढ्दो जनआक्रोशबिच दुतेर्तेविरुद्ध महाभियोग मुद्दा चल्दै छ ।
सारा फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेकी छोरी हुन्, जसमाथि मानवताविरुद्धको अपराधको आरोपमा हेगमा मुद्दा चलिरहेको छ । साराले सार्वजनिक कोषको दुरुपयोग गरेको, रहस्यमय तरिकाले सम्पत्ति आर्जन गरेको, विभिन्न अधिकारीलाई आफ्नो पक्षमा ल्याउन घुस दिएको र देशका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर तथा प्रथम महिलालाई मार्ने धम्की दिएको आरोपको सामना गरिरहेकी छिन् ।
साराले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । तथापि, उनीविरुद्ध गत वर्ष यिनै आरोप लगाएर महाभियोग लगाइएको थियो । तर, त्यस वेला साराले प्राविधिक कारणले उनीविरुद्ध दायर गरिएको महाभियोग असंवैधानिक घोषित गर्न सर्वोच्च अदालतमा सफल निवेदन दिएपछि मुद्दा अघि बढ्न सकेन । तर, यो वर्ष मे महिनामा देशको प्रतिनिधिसभाले फेरि उनलाई महाभियोग लगायो । सिनेटले अब यसपटक विषय अगाडि बढाउन योग्यता छ कि छैन भनेर निर्णय गर्नेछ ।
किन महत्वपूर्ण छ यो मुद्दा ?
सोमबार सिनेटमा महाभियोगको विषयमा छलफल हुने भएपछि दुतेर्ते समर्थक र विरोधी प्रदर्शनकारीले प्रदर्शन गर्न सक्ने चिन्ताका कारण झन्डै ६ हजारभन्दा बढी प्रहरी सिनेट भवनवरपर तैनाथ गरिएका थिए । सरकारको यस सतर्कताले पनि यो मुद्दा राजनीतिक रूपमा पेचिलो रहेको संकेत गर्छ । महाभियोग मुद्दाको नतिजाले फिलिपिन्सको आगामी राष्ट्रपतीय चुनावमा प्रत्यक्ष असर पार्न सक्छ । सारा दोषी ठहर भए उनी भविष्यमा सार्वजनिक पदमा बस्न अयोग्य ठहरिनेछिन् र त्यसले सन् २०२८ को राष्ट्रपतीय चुनावमा उनले उम्मेदवारी दिन पाउनेछैनन् । मत सर्वेक्षणहरूले दुई वर्षपछि हुने उक्त चुनावमा सारालाई अहिलेसम्म सबैभन्दा बढी जित्ने सम्भावना भएकी उम्मेद्वारका रूपमा देखाएका छन् ।
धेरैले साराविरुद्धको महाभियोग मुद्दालाई दुतेर्ते र मार्कोस परिवारबिच चलिरहेको राजनीतिक द्वन्द्वको उपजको रूपमा हेरेका छन् । केही विश्लेषकले वर्तमान राष्ट्रपति मार्कोसले कुनै वेलाकी मित्र रहेर हाल राजनीतिक शत्रु बनेकी दुतेर्तेको राष्ट्रपति हुने महत्वाकांक्षालाई रोक्न खोजिरहेका औँल्याएका छन् ।
सन् २०२२ मा सम्पन्न पछिल्लो राष्ट्रपतीय चुनावमा मार्कोस र दुतेर्ते मिलेर क्रमशः राष्ट्रपति र उपराष्ट्रपति उम्मेद्वारी दिँदा दुई परिवारबिच सुमधुर सम्बन्ध देखिएको थियो । यही गठजोडका कारण उनीहरूले भारी मतले चुनाव जितेका थिए । तर, समयक्रममा राष्ट्रपति र उपराष्ट्रपतिबिच दरार उत्पन्न भयो र यो घट्नुको सट्टा बढ्दै गएको छ ।
दुई नेताबिचको तिक्तताको एक प्रमुख कारण उपराष्ट्रपति साराका पिता रोड्रिगो दुतेर्तेको गिरफ्तारीमा फिलिपिन्स सरकारको सहयोग थियो । दुतेर्तेलाई पक्राउ गरेर हेग लगिएको छ, जहाँ उनीविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा विचाराधीन छ । तनाव चर्किंदै गएपछि राष्ट्रपति मार्कोसनजिकका दलको वर्चस्व रहेको तल्लो सदनले भारी बहुमतले दुतेर्तेविरुद्ध महाभियोग मुद्दा चलाउने पक्षमा मतदान गरेको थियो ।
के–के छन् सारामाथि आरोप ?
सारामाथि लगाइएका आरोपमा उपराष्ट्रपतिको कार्यालयअन्तर्गत सरकारी कोष दुरुपयोग गरेको, वित्तीय विवरणमा विसंगति मच्चाएको, विभिन्न अधिकारीलाई घुस तथा नगद भुक्तानी गरिएको आरोप समावेश छन् ।
त्यसबाहेक सारामाथि नोभेम्बर २०२४ मा सम्पन्न एक पत्रकार सम्मेलनमा राष्ट्रपति मार्कोस र उनकी श्रीमतीलाई मार्ने धम्की दिएको आरोप पनि छ । दुतेर्तेले पछि आफ्नो भनाइको गलत अर्थ निकालिएको भनेर प्रतिरक्षा गरेकी थिइन् । उपराष्ट्रपतिले आफूमाथि लागेका सबै आरोपको खण्डन गरेको भए पनि आरोपबारे सार्वजनिक रूपमा विस्तृत जवाफ दिन अस्वीकार गर्दै आएकी छिन् । साराका समर्थकले भने मार्कोस र उनका सहयोगीले उपराष्ट्रपतिलाई राजनीतिक प्रतिसोध साध्न दुःख दिएको बताइरहेका छन् ।
महाभियोगको अन्तिम निर्णय कसरी हुनेछ ?
महाभियोगको आरोप लागेका पदाधिकारी दोषी ठहर हुन सिनेटको दुईतिहाइ सदस्यले उनीविरुद्ध मत दिनुपर्छ । ‘युनिभर्सिटी अफ फिलिपिन्स (युपी)’का राजनीति विज्ञानकी प्राध्यापक मारिया एला एल एटिएन्जाले सिनेटको हालको संरचनालाई हेर्दा दुतेर्ते दोषी ठहरिने सम्भावना ५०–५० प्रतिशत रहेको बताइन् । यद्यपि, सबै प्रमाण प्रस्तुत गर्न बाँकी रहेको र प्रमाण बाहिरिन थालेपछि बन्ने जनमतले पनि सिनेटरको मत दायर गर्ने अवस्थालाई प्रभावित पार्ने उनले बताइन् ।
दुतेर्तेविरुद्धको महाभियोगको मुद्दा महिनौँ चल्न सक्छ । दुवै पक्षले आफ्नो प्रमाण प्रस्तुत गरिसकेपछि, महाभियोग अदालतले दुवै पक्षले पेस गरेका आरोप र जवाफको विचार–विमर्श गर्नेछ । त्यसपछि मात्र मतदान अघि बढ्नेछ । फिलिपिन्समा उच्चपदस्थ अधिकारीविरुद्ध महाभियोग लगाइएको घटना सामान्य हो, तथापि आजसम्म कुनै पनि राजनीतिज्ञ अन्तिममा दोषी ठहरिएका छैनन् ।
मुद्दाको प्रतिक्रिया कस्तो छ ?
यो मुद्दा ‘विभाजनकारी’ र राजनीतिक ध्रुवीकरणलाई बढाउने खालको भएको युनिभर्सिटी अफ फिलिपिन्सकी अर्की राजनीतिशास्त्रकी प्राध्यापक जिन एन्सिनास–फ्रान्कोले भनिन् । फिलिपिन्सका जनता भ्रष्टाचारबाट दिक्क भइरहेका छन् । विभिन्न समय उठेको विरोध प्रदर्शनले उपराष्ट्रपतिमाथि मात्र नभई राष्ट्रपतिलगायत सबै राजनीतिज्ञबाट पारदर्शिताको माग गरिरहेका छन् । विशेषतः मार्कोस जोडिएको बाढी संरक्षण परियोजनासम्बन्धी ठुलो घोटाला बाहिरिएपछि सबै राजनीतिज्ञप्रति जनआक्रोश देखिन्छ । ‘आमजनता प्रायः सबै राजनीतिक नेताप्रति असन्तुष्ट हुँदै छन्,’ एटिएन्जाले भनिन् ।
द गार्जियनबाट
(नतासा अस्ट्रेलियामा बसेर पत्रकारिता गर्छिन्)