पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट १६६ किलोग्राम गाँजासहित दुईजनालाई नेपाली सेनाले पक्राउ गरेको छ। निकुञ्ज क्षेत्रमा नियमित सुरक्षा गस्ती गरिरहेको सेनाको सबुज गणको टोलीले विशेष निगरानीका क्रममा उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो।
सोमबार सुरक्षा पोस्ट प्रतापपुरबाट खटिएको गस्ती टोलीले मकवानपुरको चुरे क्षेत्रअन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाकाको बगई खोलानजिक शंकास्पद गतिविधि गरिरहेका दुईजनालाई फेला पारेको थियो। उनीहरूको जाँच गर्दा ठुलो परिमाणमा गाँजा बरामद भएपछि नियन्त्रणमा लिइएको बताइएको छ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–३, पलासेका ५४ वर्षीय विक्रम सिंतान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन्। उनीहरूको साथबाट कुल १६६ किलोग्राम गाँजा बरामद गरिएको नेपाली सेनाले जनाएको छ।
बरामद गरिएको गाँजा तथा पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको छ।
पर्सा राष्ट्रिय निकुञ्ज मकवानपुर, बारा र पर्सा जिल्लामा फैलिएको नेपालको महत्वपूर्ण संरक्षित क्षेत्र हो। निकुञ्जको चुरे क्षेत्र घना जंगल, दुर्गम भूगोल र सीमित मानव बस्तीका कारण लामो समयदेखि विभिन्न अवैध गतिविधिका लागि प्रयोग हुने गरेको स्थानीयको भनाइ छ। विशेष गरी गाँजालगायत लागुऔषध ओसारपसार गर्ने समूहहरूले जंगलका भित्री बाटो प्रयोग गर्ने गरेको सुरक्षा निकायको निष्कर्ष छ।
यस्ता गतिविधि नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा नियमित गस्ती, निगरानी र सुरक्षा अभियान सञ्चालन गर्दै आएका छन। पछिल्लो बरामदले निकुञ्ज क्षेत्रलाई लागुऔषध ओसारपसारको मार्गका रूपमा प्रयोग गर्ने प्रयास अझै जारी रहेको देखिएको छ भने सुरक्षा निकायले यस्ता गतिविधिमाथि कडाइ गर्ने प्रतिबद्धता जनाएको छ।