- ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने एक्स्पोमा ५१ स्टल र ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहने
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले २६ देखि ३१ साउनसम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराइएको हो । आयोजकका अनुसार भृकुटीमण्डपमा हुने एक्स्पोमा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन तथा मोबिलिटीसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ । प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारी मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटी सेवा समेटिनेछन् ।
कार्यक्रममा नाइमा अध्यक्ष रितुसिंह वैद्यले संस्था स्थापना भएको एक वर्षमै २१ सदस्य कम्पनीबाट विस्तार भएर ३६ सदस्य कम्पनी पुगेको जानकारी दिइन् । नाइमाले उद्योग क्षेत्रबाट संस्थाप्रति बढ्दो विश्वास र एकीकृत प्लाटफर्मको आवश्यकता पुष्टि गरेको उनको भनाइ थियो । साथै, यो संस्था रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा र आर्थिक विकाससँग जोडिएको पनि जानकारी दिइन् ।
उनका अनुसार नाइमाले गत वर्ष मात्रै मोबिलिटी क्षेत्रसँग सम्बन्धित नीतिगत वकालत, पहिलो संस्करणको एक्स्पो आयोजना, ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिम, सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन, सरकारी निकायसँग सहकार्य तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ ।
अध्यक्ष वैद्यले एक्स्पोको टिकट बिक्रीबाट प्राप्त आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा क्षमता विकास कार्यक्रमका लागि छुट्याइने पनि बताइन् । नाइमाले आगामी दिनमा मोबिलिटी कन्क्लेभ आयोजना गर्ने र मोबिलिटी क्षेत्रमा सिप अभिवृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम व्यवस्थित गर्ने योजना रहेको उल्लेख गरिन् ।
यस्तै, बोर्ड सदस्य सन्दीप सारडाले यस्ता प्रदर्शनीले लगानी प्रवर्द्धन, व्यवसाय विस्तार, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महŒवपूर्ण योगदान पुर्याउने धारणा राखे । नाइमा अटो सो प्लानिङ कमिटीका संयोजक गौरव सारडाले यस वर्षको एक्स्पोलाई अझ व्यवस्थित, समावेशी र आगन्तुकमैत्री बनाइने र युनियन पे क्युआरमार्फत टिकट खरिद गर्दा क्यासब्याक सुविधा उपलब्ध हुने व्यवस्था गरिने बताए ।
आयोजकका अनुसार नेपाल पुलिस क्लबको ब्लु पेभेलियनस्थित अडिटोरियम हलमा निःशुल्क ‘लर्निङ सेसन’ सञ्चालन गरिनेछ । ती सत्रमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सिप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे विज्ञ, शिक्षाविद्, उद्योगी तथा नीति क्षेत्रका व्यक्तित्वले विचार राख्ने आयोजकको भनाइ छ ।
कार्यक्रममा को–स्पोन्सर ग्लोबल आइएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एक्स्पो अवधिभर आगन्तुकका लागि विशेष बैंकिङ तथा सवारी वित्तीय सुविधा उपलब्ध गराइने जानकारी दिए । यस वर्षको एक्स्पोमा ग्लोबल आइएमई बैंक को–स्पोन्सर तथा रेड बुल नेपाल बेभरेज पार्टनरका रूपमा आबद्ध हुनेछन् ।