विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विपक्षी दलका नेता र सांसदहरूले सरकारको सय दिन सकारात्मक सुरुवात रहेको, तर प्रधानमन्त्रीको कार्यशैली भने चित्तबुझ्दो नभएको टिप्पणी गरेका हुन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको, राष्ट्रिय महत्वका विषयमा दलहरूसँग संवाद नगरेको, प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको स्रोत नखुलाएको, लोकतान्त्रिक प्रक्रियामाथिको हस्तक्षेप गरेको, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई वर्षायामको मुखमा वैकल्पिक व्यवस्थाविना बिचल्ली पारिएको, संविधान संशोधनका नाममा आधारभूत संरचना चलाउन खोजेको, संघीयता मास्नेतिर उद्यत भएको, मन्त्रालयको संख्या घटाएर सल्लाहकार र स्वकीयसहित सचिवालय बढाएर राज्यकोषमाथि थप भार थोपरेको, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नगरेको, महँगी नियन्त्रण गर्ने कुनै कदम नचालेकोलगायत प्रश्न उठाएका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेस संसद्यी दलका नेता भीष्मराज आङ्देम्बेले सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवाप्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको भन्दै प्रशंसा गरे । उनले भने, ‘सरकारले सय दिनमा गरेका केही प्रयासलाई म सकारात्मक रूपमा लिन्छु । सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवाप्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ । सकारात्मक काम जहाँ भएका छन्, त्यसको प्रशंसा गर्न कांग्रेस कन्जुस्याइँ गर्दैन ।’ विपक्षी दलका नेता आङ्देम्बेले संसद््मा चुनिने प्रधानमन्त्रीको संसदीय उत्तरदायित्वबारे प्रश्न उठाए ।
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले सयौँ वर्ष लगाएर देशलाई सय दिनमा बनाउन नसकिने बताए । ‘कोसिस गर्नुभएको छ । हाम्रो सरसल्लाहलाई मिसाएर कोसिस गर्नुभयो भने सफलता छिटो प्राप्त गर्नुहुन्छ,’ उनले भने ।
सरकारलाई सभामुखको पहिलो रुलिङ
सभामुख डोलप्रसाद अर्यालले सदनमा उठेका प्रश्नहरूको जवाफ दिन पहिलोपटक सरकारलाई निर्देश गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरूले कर्णालीमा खसेको जिप फेला नपरेको, समयमा उद्धार नभएको र देशका विभिन्न ठाउँमा विपत्ले समस्या पारेको भन्दै सरकारसँग जवाफ मागेका वेला सभामुख अर्यालले रुलिङ गरेका हुन् ।