सोमबार १० बजेसम्मका प्रमुख १० खबर

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

सशस्त्र प्रहरीमा ११ करोड हिनामिना प्रकरणः इन्स्पेक्टरविरुद्ध ठगी र आपराधिक लाभ मुद्दामा म्याद थप

सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित बिद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध ठगी तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान अघि बढेको छ। जिल्ला अदालत, काठमाडौंले उनीहरूलाई सोमबार सात दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। 

सशस्त्र प्रहरी बलकै पत्रका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार उनीहरूलाई पक्राउ गरेको थियो। सोमबार अदालतबाट उनीहरूलाई ठगी तथा आपराधिक लाभ मुद्दामा थुनामा राख्न म्याद लिइएको परिसरका एसपी पवन भट्टराईले जानकारी दिए।

टेरामक्स भ्रष्टाचारः पूर्वमन्त्री मोहन बस्नेतलाई सफाइ

टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले सफाइ पाएका छन्। विशेष अदालतले उनलाई सोमबार सफाइ दिएको हो । खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नभएको भन्दै अदालतले उनलाई सफाइ दिएको हो। यस मुद्दामा १६ प्रतिवादीमध्ये १३ जनाले सफाइ पाएका छन्। 

यसमा दूरसञ्चार प्राधिकरणको तत्कालीन सञ्चालक समितिलाई मात्र दोषी ठहर गरिएको छ।। दिगम्बर झालाई एक वर्ष तथा  धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई ६ महिना कैद र ५० हजार जरिवाना सजाय भएको छ। झा प्राधिकरणका तत्कालीन अध्यक्ष तथा ज्ञवाली र उप्रेती सदस्य हुन्। 

सरकारको सदाचार नीतिः विदेशीसँग भेट गर्न परराष्ट्रको स्वीकृति अनिवार्य(पूर्णपाठसहित)

विदेशी कुटनीतिज्ञ तथा सरकारी पदाधिकारीहरूसँगको पत्राचार तथा भेटघाट गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने भएको छ। सरकारले सदाचार नीतिमार्फत कुटनीतिक क्षेत्रलाई मर्यादित, र जवाफदेही  अनुशासित बनाउन लागेको हो।   

बिहीबारको मन्त्रिपरिषद्को बैठकले नीति पारित गरेको हो। विगतका सरकारले पनि सदाचार नीतिमा गृहकार्य गरेपनि ल्याउन सकेका थिएनन् । सबै क्षेत्रमा सदाचार प्रबद्र्धनका लागि यस्तो नीति पास गरिएको र कडाईका साथ पालना गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

भन्सार र आन्तरिक राजस्व विभागमा नयाँ महानिर्देशक

अर्थ मन्त्रालयअन्तर्गतका दुई महत्त्वपूर्ण विभागको नेतृत्व फेरिएको छ। मन्त्रालयले भन्सार विभाग र आन्तरिक राजस्व विभागमा अर्थ मन्त्रालयले नयाँ महानिर्देशक खटाएको छ। भन्सार विभागमा यमलाल भुसाल तथा आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाललाई जिम्मेवारी दिइएको छ। दुवै विभागमा नेतृत्व रिक्त थियो। 

त्यस्तै, भन्सार विभागको भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्यको सरुवा भएको हो। महत्त्वपूर्ण जिम्मेवारी पाउने तीनै सहसचिव अर्थबाहिरबाट मन्त्रालयमा भित्रिएका हुन्। 

लोकप्रियतावादबाहेक रास्वपाको अरू एजेन्डा छैन : वर्षमान पुन

पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग लोकप्रियतावादबाहेक अन्य एजेन्डा केही नभएको टिप्पणी गरेका छन्।

पार्टीको रोल्पा जिल्ला समितिकाे दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पुनले विचार र एजेन्डाविहीन पार्टीले ठाउँ र अवस्थाअनुसार बोल्ने र काम पनि त्यही गर्ने गरेको आरोप लगाए। निर्वाचनका समयमा मधेशमा गएर संघीयतालाई मजबुत बनाउने कुरा गरेको, सुदूरपश्चिम पुगेर विकासमा प्राथमिकता दिने कुरा गरेको रास्वपाले चुनाव जितिसकेपछि संघीयताकै विरुद्धमा बहस सुरु गरेर मतदाताको भावनामाथि खेलवाड गरेको उनको भनाइ छ।

५५.५८ प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट

नेपाल प्रहरीको तथ्यांकअनुसार मुलुकभर सबैभन्दा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको देखिन्छ । पछिल्लो पाँच वर्षमा मुलुकभर एक लाख ८८ हजार ४७६ दुर्घटना भए । जसमध्ये एक लाख पाँच हजार २७० दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिन्छ । यो कुल दुर्घटनाको ५५.८५ प्रतिशत हो । 

सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण भएको देखिन्छ । यस अवधिमा मात्रै तीव्र गतिका कारण ४६ हजार ३९८ दुर्घटना भए । त्यस्तै, लाइसेन्सविनाका चालकले चलाउँदा यो अवधिमा १२ हजार ९५९ दुर्घटना भएका छन् ।

आयल निगमको कार्यकारी निर्देशकमा ११ जनाको निवेदन

आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि खुलाइएको विज्ञापनमा ११ जनाले आवेदन दिएका छन्। २१ दिनको म्याद दिएर १ असारमा खुलेको विज्ञापनको अन्तिम दिन सोमबारसम्म ११ जनाले आवेदन दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

सोमबार एकैदिन ८ जना र त्यसअघि ३ जनाको आवेदन परेको थियो। आवेदन दिनेहरूमा निगमको निमित्त कार्यकारी प्रमुखबाट अवकाश लिएका नागेन्द्र साहसमेत छन्। उनीबाहेक अधिकांश आवेदक नयाँ अनुहार हुन्।

सार्वजनिक स्थलमा महिलालाई गोप्य अंग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ

ललितपुरको इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंग प्रदर्शन गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्।

सार्वजनिक स्थलमा एक महिलासामु आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्।

प्रहरीका अनुसार बैतडीको पाटन नगरपालिका– ७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका– २, इमाडोल बस्दै आएका भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनापछि पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।

हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा छात्रवृत्तिको आवेदन नपर्दा बजेट फ्रिज

बागमती प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि व्यवस्था गरेको छात्रवृत्ति बजेट आवेदन नपर्दा फ्रिज भएको छ। प्राविधिक कारणवश तोकिएको समयसीमाभित्र केवल एकजनाको मात्र आवेदन परेपछि छात्रवृत्तिका लागि विनियोजित १ करोड रुपैयाँ सरकारी खातामै थन्किएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी होमबहादुर नेपालीले बताए।

प्रदेश सरकारले मेडिकल डाक्टर, आयुर्वेद डाक्टर, भेटेरिनरी डाक्टर, कृषि, इन्जिनियरिङ र स्टाफ नर्सजस्ता प्राविधिक विषयहरूमा कुल २२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न गत जेठ महिनामा आवेदन माग गरेको थियो। 

शनिबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले हेटौँडामा सरोकारवालासहित आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेशको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी नेपालीले प्रदेश सरकारले शिक्षा सुधारका धेरै कार्यक्रम गरेको भए पनि प्रचार हुन नसकेको गुनासो गरे। ‘अनिवार्य तथा नि:शुल्क शिक्षा सुनिश्चितताको घोषणा गर्न प्रत्येक पालिकामा २० लाख उपलब्ध गरायौँ, त्यो बजेट पनि पूर्ण उपयोग भएन,’ उनले भने।

नेप्सेमा २६ अंकको गिरावट

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। सोमबार नेप्से २६.२९ अंकले घटेर दुई हजार ६२७.११ विन्दुमा कायम भएको हो।

आज कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन चार अर्ब ४१ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएकोमा आज तीन अर्ब ५५ करोडमा झरेको हो। सोमबार ३५६ कम्पनीका ७५ लाख ४० हजार कित्ता सेयर खरिद–बिक्री भए।

सुझावित समाचार