महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरस्थित एक संस्थागत विद्यालयका सञ्चालक २५ वर्षीय बिकु साहमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार असार १९ गते विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन भइरहेका वेला अपराह्न अज्ञात व्यक्तिले साहमाथि चक्कु प्रहार गरी घाइते बनाएका थिए। घटनाको अनुसन्धानका क्रममा प्रहरीले आरोपितको पहिचान गरी उनलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
चक्कु प्रहार गरेको आरोपमा सिराहा जिल्लाको कर्जन्हा नगरपालिका–५ निवासी ३० वर्षीय जितेन्द्र साहलाई असार २० गते सप्तरीको रुपनी गाउँपालिका–३, कटैया गाउँबाट जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय गौशालाको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनाको कारण हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी पञ्चलाल गोलेले बताए। उनका अनुसार अदालतबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।
चक्कु प्रहारबाट घाइते भएका बिकु साह उपचाररत रहेका छन्। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।