थकाली खानाको ट्रेडमार्क थकाली भान्साघर संघलाई

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

थकाली खानाको मौलिक पहिचान, गुणस्तर तथा परम्परागत स्वाद संरक्षण गर्ने उद्देश्यसहित थकाली भान्साघर संघले थकाली खानाको सामूहिक (कलेक्टिभ) ट्रेडमार्क प्राप्त गरेको छ। संघले उद्योग विभागमार्फत सोमबार सामूहिक ट्रेडमार्क प्राप्त गरेको अध्यक्ष विवेक तुलाचनले बताए।

‘संघले ट्रेडमार्क प्राप्त गरेसँगै थकाली खानाको मौलिकता, स्वाद, सरसफाइ, सेवा र परम्परागत परिकारको संरक्षणमा प्रभावकारी रूपमा काम गर्ने वातावरण बनेको छ,’ अध्यक्ष तुलाचनले भने, ‘यसका लागि सदस्य भान्साघरको नियमित अनुगमन, गुणस्तर मूल्यांकन तथा आवश्यक मापदण्ड कार्यान्वयनका लागि काम हुनेछ।’

संघका अनुसार लामो समयदेखि थकाली खानाको नाममा व्यवसाय सञ्चालन हुँदै आए पनि एउटै मापदण्ड र परम्परागत विधि नअपनाइएकाले उपभोक्तामा भ्रम सिर्जना हुने अवस्था बढ्दै गएको थियो। अबदेखि संघले निर्धारण गरेको मापदण्ड पूरा गर्ने सदस्य भान्साघरले मात्र आधिकारिक रूपमा उक्त ट्रेडमार्क प्रयोग गर्न पाउनेछन्।

ट्रेडमार्कले थकाली खानाको पहिचानलाई कानुनी संरक्षण प्रदान गर्नुका साथै नक्कली वा मापदण्डविपरीत ‘थकाली’ नाम प्रयोग हुने प्रवृत्तिमा नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरेको अध्यक्ष तुलाचनले बताए।

थकाली खाना नेपालका लोकप्रिय परिकारमध्ये एक मानिन्छ। यसको परम्परागत स्वाद, पौष्टिकता र विशिष्ट परिकारका कारण स्वदेशी तथा विदेशी उपभोक्तामाझ समान रूपमा लोकप्रिय छ। संघले ट्रेडमार्क प्राप्तिसँगै थकाली खानाको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ। थकाली समुदायको गढ मानिने मुस्ताङको थाकखोलाबाट थकाली खानाको विकास भएको हो।

थकाली खानामा व्यापकता आउनुको प्रमुख कारण स्वाद नै हो। स्वादलाई कायम राख्ने मुख्य भूमिका थकाली समुदायका महिलाले गर्छन्। त्यसैले प्रायजसो थकाली भान्साघरको भान्सा महिलाले नै सम्हालेका हुन्छन्।
 

सुझावित समाचार