कर्णाली दुर्घटनामा उद्धारमा सरकार उदासीन रहेको सांसद ज्ञानेन्द्र शाहीको आरोप

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली नदीमा यात्रुवाहक गाडी दुर्घटनामा पर्दा सरकारले उद्धारमा आवश्यक चासो नदिएको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपतका वेला हेलिकाेप्टरमार्फत उद्धार गर्ने प्रतिबद्धता सरकारले जनाएको भए पनि हालै सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक गाडी कर्णाली नदीमा खस्दा समयमै हेलिकाेप्टर परिचालन हुन नसकेको भन्दै आपत्ति जनाए।

शाहीले मन्त्रीहरू हेलिकाेप्टर प्रयोग गरिरहँदा सर्वसाधारण भने उद्धारको अभावमा ज्यान गुमाउन बाध्य भएको टिप्पणी गरे। उनले घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गर्दै सभामुख डोलप्रसाद अर्याललाई सरकारलाई रुलिङ गर्न आग्रह पनि गरे।

दुर्घटनापछि आफूले सम्बन्धित निकायमा गरेको फोनसमेत नउठाइएको उल्लेख गर्दै उनले सरकारले नागरिकको जीवनरक्षाजस्तो संवेदनशील विषयमा गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाए।

राज्यले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भए पनि यस घटनामा संवेदनहीनता देखिएको भन्दै सरकारले घटनाको यथार्थ जानकारीसहित जवाफ दिनुपर्ने उनको माग थियो।

सुझावित समाचार