चीनको पूर्वी तटवर्ती क्षेत्रको जल तथा हवाई क्षेत्रमा चिनियाँ र रुसी नौसेनाले संयुक्त अभ्यास गर्ने भएका छन् । प्रमुख बन्दरगाह सहर छिङदाओनजिकै हुने यस वार्षिक अभ्यासपछि प्रशान्त महासागरका तोकिएका क्षेत्रमा संयुक्त समुद्री गस्ती गरिने आइतबार चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार सोमबारदेखि जुलाई १३ सम्म सञ्चालन हुने उक्त अभ्यासका लागि रुसको ’प्यासिफिक फ्लिट’ (प्रशान्त महासागरीय नौसेना दस्ता)अन्तर्गतका एक क्रुजर, एक कोर्भेट, एक डिजेल–इलेक्ट्रिक पनडुब्बी र एक उद्धार जहाज छिङदाओ पुगेका छन् ।
चीनको ‘नर्दन थिएटर कमान्ड’ले जनाएअनुसार यस अभ्यासमा सहभागी हुने आफ्ना फौजमा दुईवटा विध्वंशक जहाज, एउटा फ्रिगेट, एउटा पनडुब्बी, एउटा आपूर्ति जहाज र एउटा उद्धार जहाज समावेश छन् । दुवै देशका नौसेनाले निगरानी, हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा र सतहबाट प्रहार गर्ने अभ्यास सञ्चालन गर्ने अपेक्षा गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणको करिब दुई महिनापछि यो सैन्य अभ्यास हुनलागेको हो । भ्रमणका क्रममा उनले दुई देशबिचको सम्बन्ध ‘अभूतपूर्व उच्चस्तर’मा पुगेको बताएका थिए ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबिचको साझेदारीलाई दृढ भनेका छन् । कूटनीतिक तथा आर्थिक क्षेत्रका यी दुई प्रमुख साझेदार मुलुकहरूले सन् २०१२ देखि संयुक्त सामुद्रिक अभ्यास गर्दै आएका छन् । गत वर्षको अभ्यास रुसी बन्दरगाह भ्लादिभोस्तोकनजिकै सञ्चालन गरिएको थियो र त्यसपछि प्रशान्त क्षेत्रमा संयुक्त गस्तीसमेत गरिएको थियो । छिमेकी मुलुक युक्रेनमाथि रुसले गरेको पूर्णस्तरको आक्रमणको चीनले कहिल्यै निन्दा गरेको छैन ।