उपसभामुख रुबीकुमारी ठाकुर चीनको तिब्बत स्वायत्त क्षेत्रमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाने भएकी छिन् । उनी ३१ असारमा जाने र ३ साउनमा फर्किने कार्यक्रम तय भएको छ ।
उपसभामुखका रूपमा ठाकुरको यो पहिलो विदेश भ्रमण हो । कूटनीतिक स्रोतका अनुसार तिब्बतको लिन्जीमा आयोजना हुने ‘ट्रान्स–हिमालयन फोरम’मा सहभागी हुन उनी जान लागेकी हुन् ।
फोरम ३२ असारदेखि २ साउनसम्म आयोजना हुनेछ । ठाकुरसँग तिब्बत सरकार र चिनियाँ कम्युनिस्ट पार्टी, तिब्बत क्षेत्रका नेताहरूको पनि भेटवार्ताको तयारी छ । ट्रान्स–हिमालयन फोरममा चीनले विभिन्न देशका नेता, व्यवसायी र विज्ञहरूलाई आमन्त्रण गरेको छ ।
गत वर्ष यो कार्यक्रममा चीनका लागि तत्कालीन नेपाली राजदूत डा. कृष्णप्रसाद ओली र ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला सहभागी भएका थिए । यस वर्ष उपसभामुख ठाकुर नेतृत्वको प्रतिनिधिमण्डल तथा ल्हासास्थित नेपाली महावाणिज्यदूत निरौला सहभागी हुने कार्यक्रम छ । यद्यपि, उपसभामुखको तिब्बत भ्रमणबारे नेपाल र चीन दुवैले सार्वजनिक गरिसकेका छैनन् ।