बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा पन्त

भन्सार नाका स्तरोन्नतीका लागि पहल गर्छु : अध्यक्ष पन्त

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा वरिष्ठ व्यवसायी प्रकाशराज पन्त चयन भएका छन् । शनिबार सम्पन्न भएको बेलौरी उद्योग वाणिज्य संघको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पन्त सर्वसम्मत चयन भएका हुन् ।

बेलौरी उद्योग वाणिज्य संघको संस्थापक सदस्यसमेत रहेका पन्त यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिए । यसपटक पन्तकै काँधमा बेलौरी उद्योग वाणिज्य संघको जिम्मेवारी आएको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा महेन्द्रसिंह बुडाल, उद्योग उपाध्यक्षमा  राजेन्द्रबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा वसन्त पुनमगर, महासचिवमा रामेश्वर न्यौपाने र सचिवमा रिता चौधरी चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा वासुदेव भट्ट (शीतल), कैलाशसिंह विष्ट, यबहादुर खत्री, दिनेश चौधरी, तारासिंह विष्ट, आलोचना श्रेष्ठ, अशोक चौधरी चयन भएका छन् । यसपटक संघमा सहमतीय आधारमा नयाँ नेतृत्व एवं समिति चयन भएको हाे।

भन्सार नाका स्तरोन्नतिका लागि पहल गर्छु : अध्यक्ष पन्त

बेलौरी उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेका अध्यक्ष प्रकाशराज पन्तले बेलौरी भन्सार नाका स्तरवृद्धिको संकल्प लिएका छन् ।भन्सारको स्तरवृद्धि गर्दै आयात-निर्यात र नेपाल-भारत व्यापार सन्तुलन गर्ने आफ्नो  लक्ष्य रहेको उनले बताए ।

‘यो नाका हाम्रो आजको होइन, पहिलेदेखि नै थियो। उतिवेलादेखि छोटी भन्सार मात्रै छ,’ उनले भने, ‘नाका स्तरवृद्धि नहुँदा यहाँका व्यवसायीलाई आयात-निर्यातमा समस्या भएको छ, त्यसलाई समेत निराकरण गर्छु ।’ बेलौरी नाका विस्तारसँगै जिल्लाकाे मात्रै होइन प्रदेशकै आर्थिक विकासको ढोका खुल्ने अध्यक्ष पन्तको भनाइ छ।

अध्यक्ष पन्तले बेलौरीसहितको दक्षिणी क्षेत्रका भौतिक पूर्वाधार सडक सञ्जाल प्रदेशको राजधानीसमेत रहेको धनगढी, जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने हुलाकी सडकसहितका सडक विस्तारका कार्यक्रमसमेत अघि बढाउन पहल गर्ने संकल्प लिएका छन् ।

अध्यक्ष पन्तले आम उद्योगी, व्यवसायीहरूको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । यसपटक संघको अधिवेशनमा विगतको जस्तो सयौँ उद्योगी, व्यवसायीहरूको सहभागिता नभएकोले समेत संघप्रति उद्योगी,–व्यवसायीको आकर्षण किन घटिरहेको छ भन्ने विषयमा समेत चासो व्यक्त गरिएको छ ।

सुझावित समाचार