स्मार्ट लाइसेन्स छपाइ तीव्र

सम्झौताबमोजिम समयमै छपाइ नभएका २९ लाखमध्ये २३ लाख ८९ हजार स्मार्ट लाइसेन्सको छपाइ सकियो, नयाँ आवेदनअनुसारको लाइसेन्स २४ घण्टाभित्रै छपाइ

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण
  • नागरिकका घर–घरमा पुग्न थाले पासपोर्टदेखि शैक्षिक प्रमाणपत्रसम्म
  • अवैध सट्टेबाजी र जुवाका कुल दुई लाख ४८ हजार ६ सय ७६ वटा डोमेन लिंकहरू बन्द

सरकारले स्मार्ट लाइसेन्स छपाइलाई तीव्रता दिएको छ । विगत लामो समयदेखि नागरिकले आवेदन दिएर छपाइ हुन नसकेको २९ लाख थानमध्ये २३ लाख थान स्मार्ट लाइसेन्सको छपाइ सकिएको हो । 

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारका शासकीय सुधारका सय कार्यसूचीसमेत मन्त्रालयबाट पछिल्लो तीन महिनामा भएका कार्यहरूको सारांश सार्वजनिक गर्दै सवारी लाइसेन्स छपाइमा तीव्रता दिइएको जनाएका हुन् । 

सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच १२ कात्तिक ०८२ मा भएको पहिलो सम्झौताबमोजिम छपाइ गर्न बाँकी रहेका १२ लाख क्युआरसहित स्मार्ट सवारीचालक अनुमतिपत्र छपाइ सकिएको मन्त्रालयले जनाएको छ । पहिलो सम्झौताअन्तर्गतको शतप्रतिशत छपाइ सम्पन्न गरी यातायात व्यवस्था विभागलाई उपलब्ध गराइएको उल्लेख छ ।

त्यसैगरी, मुद्रण केन्द्र र विभागबिच ४ वैशाख ०८३ मा भएको दोस्रो सम्झौताबमोजिम असार मसान्तसम्म १७ लाख थानसमेत गरी २९ लाख स्मार्ट लाइसेन्स छपाइ गर्नुपर्ने थियो । त्यसमध्ये १९ असार सम्ममा २३ लाख ८९ हजार चार सय ३१ थान अर्थात् ८२ प्रतिशत छपाइ सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ ।

पासपोर्ट र लाइसेन्स घरघरमै
सरकारले पासपोर्ट (राहदानी) तथा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)जस्ता कागजात नागरिकका घर–घरमै पुर्याइदिन थालेको छ । राहदानी विभागबाट प्राप्त दुई लाख सात हजार आठ सय ३४ थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हुम्ला र भोजपुरबाहेकका ७५ जिल्लामा जिल्ला हुलाक कार्यालले ६ हजार दुई सय ९३ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याइएको समेत उल्लेख छ । ‘यातायात व्यवस्था विभागबाट प्राप्त आठ लाख आठ हजार ४४ वटा लाइसेन्स सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको छ,’ मन्त्रालयले उल्लेख गरेको छ।

सुझावित समाचार