तीव्र गतिका कारण मोटरसाइकल रेलिङमा ठोक्किँदा एक किशोरको मृत्यु

शनिबार, २० असार, २०८३
डिजिटल संस्करण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६, हात्तीलेटस्थित धरान–चतरा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।शनिबार दिउँसो करिब १:५० बजे गौरीटारबाट चौघडा चोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७०२८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण सडकको रेलिङमा ठोक्किएर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–६ निवासी अन्दाजी १७/१८ वर्षीय प्रतीक मानन्धर गम्भीर घाइते भएका थिए । उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । प्रहरी र ट्राफिकको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याए पनि उपचारकै क्रममा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौँडा–६ का १७ वर्षीय अंकुर लामा घाइते भएका छन् । उनको दुवै हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय चौघडाको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार