मेलम्चीको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

 मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा आएको बाढीका कारण पानीको गुणस्तर प्रभावित भएपछि प्रशोधन प्रक्रिया जटिल बनेको हो। यसका कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउने कार्य अस्थायी रूपमा स्थगित गरिएको उनले जानकारी दिए।

उनका अनुसार मुहानको पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार उपत्यकामा खानेपानी आपूर्ति पुनः सुरु गरिनेछ।

केयुकेएलले निरन्तर वर्षा भइरहेमा पानीको गुणस्तर सामान्य अवस्थामा फर्किन समय लाग्न सक्ने भएकाले खानेपानी आपूर्ति पुनः सञ्चालनमा ढिलाइ हुन सक्ने जनाएको छ।

सुझावित समाचार