कर्णाली नदीमा फोर्स गाडी दुर्घटना : एकजनाको शव फेला, ५–६ यात्रु बेपत्ता हुन सक्ने अनुमान

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको सांगेतरा क्षेत्रमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११:३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब चार सय मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको टोली घटनास्थलमा परिचालित भई खोज तथा उद्धार कार्य सुरु गरेको थियो। उद्धारका क्रममा नदीमा डुबेको गाडीबाट एकजना पुरुषलाई बाहिर निकालेर नगर अस्पताल दुल्लु पठाइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकको सनाखत कालीकोटको पचालझरना गाउँपालिका– ९ निवासी ५४ वर्षीय जेखे तिरुवाका रूपमा भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाग्रस्त गाडीमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका आधारमा गाडीमा करिब पाँचदेखि ६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। बेपत्ता यात्रुको खोजी तथा पहिचान गर्ने कार्य जारी रहेको छ।

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको समन्वयमा उद्धार अभियान सञ्चालन भइरहेको छ। सशस्त्र प्रहरी बलका ६ जना तालिमप्राप्त गोताखोरको टोलीसमेत नदीमा खोजी कार्यमा परिचालित रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले घटनासम्बन्धी कुनै भरपर्दो जानकारी भएमा तत्काल प्रहरीलाई उपलब्ध गराई खोज तथा उद्धार कार्यमा सहयोग गर्न सबैसँग अनुरोध गरेको छ।

सुझावित समाचार