सरकारका सय दिन : स्वास्थ्यमा सुधारका प्रयास, तर आइतबारे बिदाले अस्पताल अस्तव्यस्त

शिक्षामा नतिजा प्रकाशन छिटो, तर शैक्षिक सत्र सञ्चालनमा चुक्यो

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

पहुँचका आधारमा लामो समयदेखि मन्त्रालयमै ढलीमली गर्दै आएका चिकित्सक र कर्मचारीलाई दरबन्दी भएकै अस्पताल तथा कार्यालयमा फिर्ता पठाएर सरकारले स्वास्थ्यतर्फ सुधारको थालनी गरेकाे छ ।

त्यस्तै, सत्तारूढ पार्टी रास्वपाको स्वास्थ्य विभागमार्फत स्वास्थ्य बिमा सुधारका लागि विज्ञ र सरोकारवालासँग छलफल चलाएको छ । उक्त विभागले बिमा पुनर्संरचनाको खाका बुझाइसकेको छ । नवीकरण नभएका पाँच हजारभन्दा बढी फार्मेसी खारेजदेखि विपन्नको उपचारका लागि १० प्रतिशत शङ्ढया कार्यान्वयनमा ल्याएको छ ।

पाटन मानसिक अस्पतालमा अनलाइन टिकटिङको सुरुवात, सरकारी अस्पतालको गुणस्तर र औषधि व्यवस्था विभागको अनुगमन, नक्कली औषधि खरिद–बिक्री गर्नेलाई कारबाही, १८ अस्पतालमा जलनको विशेष वार्ड सञ्चालन, विपन्न बिरामीको उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन, बेड संख्याअनुसार शुल्क नतिर्ने निजी अस्पताललाई कारबाही, ९७७ नयाँ दरबन्दी थपजस्ता सुधारका काम गरेको मन्त्रालयले बुधबार मात्रै वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सुरु गरेको छ । 

तर, आइतबार पनि बिदा दिने सरकारको कदमले भने ठुला सरकारी अस्पतालहरू अस्तव्यस्त बनेका छन् । लगातार दुई दिनको बिदाले बिरामीलाई उपचार प्रक्रिया कठिन बनिरहेको छ ।

वीर, टिचिङ, पाटन, थापाथली, कान्ति बाललगायत अस्पतालमा पुग्ने बिरामीले दुईदिने बिदाले पारेको मर्का सुनाउने गरेका छन् । त्यस्तै, मन्त्रालयले करिब १८ अर्ब स्वास्थ्य बिमाको भुक्तानी नगर्दा कतिपय अस्पतालले बिमा सेवासमेत ठप्प पारिरहेका छन् ।

उनी निजी अस्पतालमा उपचार गराउँदा बिरामीले कर तिर्नुपर्ने बजेटमै व्यवस्था गरेपछि सरकारको आलोचना भएको छ । त्यस्तै, क्यान्सरका बिरामीलाई किमोथेरापी गर्दा अत्यावश्यक सिसप्लाटिन र कार्बोप्लाटिनदेखि रेबिजविरुद्धको खोप हाहाकार भएको महिनौँ भइसक्दा पनि सरकारले आपूर्ति गर्न सकेको छैन । 

शिक्षामा नतिजा प्रकाशन छिटो, तर शैक्षिक सत्र सञ्चालनमा चुक्यो 
शिक्षामा सरकार सुरुवातमै अल्मलियो । नयाँ शैक्षिक सत्र ०८३ को पठनपाठन र भर्ना कार्यक्रमबारे मन्त्रालयले ढिलो मिति तोक्यो । जसमा अभिभावक र विद्यालय सहमत भएनन् । अन्ततः सरकार आफैँ उक्त निर्णयबाट पछि हट्यो । त्यस्तै, विद्यालय तहको शिक्षा स्थानीय तहमातहत रहेकाले सरकारको छात्रवृत्ति कार्यक्रम पनि व्यवस्थित हुन सकेको छैन ।

एक महिनामै एसइई र ४० दिनमै कक्षा १२ को नतिजा प्रकाशन गरेर परम्परा तोड्यो । तर, विगतमा परीक्षा दिएको तीन महिनासम्म नतिजा नआउँदा विद्यार्थी आजित हुन्थे । नतिजा छिटो आए पनि त्रुटि भएको भन्दै १२ का विद्यार्थी भने सडकमै ओर्लिएका छन् ।

सयदिने कार्ययोजनामै समेटेर सरकारले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र विद्यार्थी संगठनका संरचना हटायो । त्यस्तै, बिदा तथा अध्ययन बिदामा बसेर नफर्किएका त्रिवि प्राध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गरेका छन् । 

सुझावित समाचार