‘प्लस टु’ अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै बिहानी इभेन्ट्सले असार ३२ देखि साउन २ गतेसम्म ‘फुटसल मेनिया : नेसनल इन्टरहाइस्कुल फुटसल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ।
तारकेश्वर नगरपालिकास्थित टिपटप स्पोर्टस् हबमा हुने प्रतियोगितामा देशभरका ४८ उच्च माध्यमिक विद्यालयका टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगितामा बढीमा २० वर्षका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीसमेत सहभागी हुन पाउने व्यवस्था गरिएको छ। त्यस्तै, एउटा विद्यालयबाट दुईवटा टोलीसम्म सहभागी हुन पाउनेछन्।
आयोजक बिहानी इभेन्ट्सकी इभेन्ट्स डाइरेक्टर अस्मिता घिमिरेका अनुसार विश्वकपको माहोलबिच विद्यार्थीलाई खेलकुदसँग जोड्ने, खेलभावना, टिम स्पिरिट र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
सहभागी ४८ टोलीलाई १६ समूहमा विभाजन गरिनेछ। राउन्ड रोबिन लिगपछि प्रत्येक समूहको विजेता टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनेछ। खेल प्रति–हाफ सात मिनेटको हुनेछ।
प्रतियोगिताको कुल पुरस्कार राशि तीन लाख ७५ हजार रुपैयाँ छ। विजेता टोलीले ट्रफी र मेडलसहित दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विजेताले रनिङ सिल्ड पनि जित्नेछ। बिहानी इभेन्ट्सले यसलाई वार्षिक प्रतियोगिताका रूपमा निरन्तरता दिने जनाएको छ।
प्रतियोगिताको टाइटल स्पोन्सरमा ‘युनिगो एजुकेसन एक्सपर्ट’ छ। प्रतियोगितामा टोली दर्ता ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा गरिनेछ। प्रतिटोलीको दर्ता शुल्क १५ हजार रुपैयाँ तोकिएको छ। दर्ताका लागि सहभागीले युनिगो एपमार्फत आवेदन दिन सक्नेछन्। प्रत्येक टोलीमा न्यूनतम पाँच र अधिकतम आठ खेलाडी राख्न पाइनेछ।