ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा खानेपानी आयोजनाको १८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, निर्माण कम्पनी शिरीष कन्स्ट्रक्सन र सो कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध बुधबार आरोपपत्र दायर गरेको हो।
आर्थिक वर्ष ०७७/७८ मा गाउँपालिकाको वडा नं. १ र २ मा पलापु खानेपानी लिफ्टको निर्माण कार्यका लागि भक्तपुरको शिरीष कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। मूल्य अभिवृद्धि करसहित एक करोड ५६ लाख २९ हजार ४७८ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना ०७८ फागुन १७ भित्र सम्पन्न गर्ने गरी कम्पनीले १८ लाख ५० हजार रुपैयाँको कार्यसम्पादन जमानत राखेको थियो।
तर, निर्माण कम्पनीले सन्तोषजनक रूपमा काम नगरेपछि गाउँ कार्यपालिकाको ०७८ माघ २९ को बैठकले ठेक्का रद्द गरी वैकल्पिक प्रक्रियाबाट काम अघि बढाउने र कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। अख्तियारको अनुसन्धानअनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदीले ठेकेदार राईसँगको आपसी मिलेमतोमा कार्यपालिकाको उक्त निर्णयलाई लुकाइछिपाई बैंक जमानत जफत हुनबाट जोगाएका थिए।
सुवेदीले बैंक जमानतको म्याद सकिएपछि ठेकेदार र नेपाल बैंक लिमिटेडलाई रकम जम्मा गरिदिन पत्राचार गरेको देखिएको छ। यसरी जानीजानी म्याद गुजारी सरकारी सम्पत्तिको हिनामिना र नोक्सानी गरेको अख्तियारको ठहर छ।