एनसेलले थ्रिजी सेवा बन्द गर्ने भएको छ । नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नति गर्ने योजनाअनुसार एनसेलले विभिन्न १३ जिल्लाका स्थानीय तहमा थ्रिजी सेवा बन्द गर्ने भएको छ । ‘भ्वाइस ओभर लङ टर्म एभोल्युसन’ भोल्टे सेवाले प्रविधिसँगै फोरजी नेटवर्क, भ्वाइस र डेटा सेवाको अनुभव अझै परिस्कृत बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पाँच प्रदेशका १३ जिल्लाका दुई सय २० भन्दा बढी टावरमा २२ असारबाट थ्रिजी सेवा बन्द हुनेछ । जसमा कोशी प्रदेशको उदयपुरका त्रियुगा, चौदन्डीगढी, वेलका, कटारी, संखुवासभाका चैनपुर, खाँदबारी, धर्मदेवी, धनकुटाका पाख्रीबास, साँगुरीगढी, भोजपुरका टेम्केमैयुङ र अरुणलगायत स्थानीय तह रहेका छन् । त्यस्तै, मधेश प्रदेशको सप्तरी जिल्लाका सप्तकोशी र कञ्चनपुर, कर्णाली प्रदेशका रुकुम पश्चिमका चौरजहारी, मुसिकोट, त्रिवेणी, सल्यानका शारदा, छत्रेश्वरी, बागचौरलगायत स्थानीय तहमा थ्रिजी बन्द हुने बताइएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्वका सिस्ने, भुमे, रोल्पाका थबाङ, गंगादेवलगायत स्थानका साथै बागमती प्रदेशको मकवानपुरका हेटौँडा, बकैया, मनहरी र राक्सिराङजस्ता स्थानीय तहहरूमा थ्रिजी सेवा बन्द गर्न लागिएको एनसेलले जनाएको छ । एनसेलले उल्लिखित जिल्लावासीलाई फोरजीमा अपग्रेड हुन र बाँकी ग्राहकलाई भोल्टे सेवा लिन आग्रह गरेको छ । यसअघि पनि गत माघमा कम्पनीले कोशी प्रदेशका तीन जिल्लाका विभिन्न स्थानीय तहमा थ्रिजी बन्द गरिसकेको छ ।
कम्पनीका अनुसार थ्रिजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ । यसले उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकलाई भ्वाइस र डेटामा थप गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गराउने कम्पनीको भनाइ छ । ग्राहकले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्ने बताइएको छ ।