मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

अब कर्मचारी सरुवा निवेदन अनलाइनबाट मात्रै, मन्त्रालयले ल्यायो नयाँ सफ्टवेयर प्रणाली

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री र पूर्वानुमानयोग्य बनाउन अनलाइन सरुवा सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याएको छ। अबदेखि सरुवासम्बन्धी सम्पूर्ण कार्यहरू अनिवार्य रूपमा यसै प्रणालीमार्फत मात्र सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

मूल्य घट्ने अनुमान गर्दै देशभरका पेट्रोलपम्प व्यवसायीले उठाएनन् तेल, निगमका कर्मचारी शंकाको घेरामा

आज रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घट्ने अनुमान गर्दै देशभरका पेट्रोलपम्प व्यवसायीले आयल निगमबाट दैनिक खपतको तुलनामा न्यून मात्रामा तेल उठाएका छन्।

नियमित कार्यतालिकाअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज मंगलबार दिउँसो नयाँ खरिद मूल्य आउने र निगमले आजै मूल्य घटाउने पम्प व्यवसायीको अनुमान छ। त्यसैले, महँगोमा किनेर सस्तोमा बेच्नुभन्दा पम्प व्यवसायीले सरसल्लाह गरेर आयल निगमका कतिपय डिपोबाट तेल नै उठाएका छैनन्। केही डिपोबाट न्यून परिमाण मात्रै उठाएका छन्।

महान्यायाधिवक्ता कँडेलको नियुक्तिसम्बन्धी निर्णयको फाइल र अध्यागमनको रेकर्ड झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अध्यागमन विभागबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलकाे नेपाल–बेलायत यात्राकाे अभिलेखको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको छ।

महान्यायाधिवक्ताको योग्यता सम्बन्धको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सन् २०१५ देखि सन् २०२४ सम्म कँडेलले नेपालबाट बेलायत आवतजावत गरेको अभिलेखको प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाउन भनेको हो।

अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले १० वर्षको यात्रा विवरण झिकाउन आदेश दिएको हो।

सर्वोच्चले डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्ति गर्नेसम्बन्धी सरकारको २०८२ चैत २२ को निर्णयसहितको फाइल पेस गर्नसमेत निर्देशन दिएको छ।

होमवर्क नगरेको बहानामा विद्यार्थीमाथि कुटपिट

रौतहटको गौरस्थित एक निजी विद्यालयमा होमवर्क नगरेको भन्दै कक्षा पाँचमा अध्ययनरत दुई विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेका छन्। घटनापछि विद्यालयले अभिभावकसँग माफी मागेको छ भने सम्बन्धित निकायले छानबिन गर्ने जनाएको छ।

गौर–बरहवा पुलको उत्तरतर्फ रहेको बालनिकेतन बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा पाँचका दुई विद्यार्थीलाई विद्यालयका प्रिन्सिपलकी छोरीले पाइपले कुटपिट गरेको पीडित अभिभावकको आरोप छ। अभिभावकका अनुसार ती महिला विद्यालयकी नियमित शिक्षिकासमेत होइनन्।

विदेशी आवासीय अनुमति लिएका चार कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरी कारबाही सिफारिस

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा (डिभी) लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ।

निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदनसमेत दिन नपाइने कानुनी व्यवस्था छ। स्वीकृत बिदा समाप्त भएपछि ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।

न्याय खोज्दै माइतीघर आए सुस्तावासी (फोटोफिचर)

विभिन्न माग राख्दै सुस्ता बचाऊ अभियान, नवलपरासीले काठमाडौंको माइतीघर मण्डलामा धर्ना प्रदर्शन गरेको छ।मंगलबार अभियानले भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल तथा सीमा सुरक्षा सुदृढ गर्न, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्न र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त निजी कलेजलाई थप्ने विद्यार्थी कोटा विवादमा

सुदूरपश्चिम विश्वविद्यालय सम्बन्धन प्राप्त निजी कलेजलाई शैक्षिक कार्यक्रम (विद्यार्थी संख्या कोटा) थप दिने विषयमा विवाद उत्पन्न भएको छ । २६ जेठ ०८३ मा सुदूरपश्चिम विश्वविद्यालयले यस अघि सम्बन्धन प्राप्त कलेजलाई चालू शैक्षिक सत्रमा बिएस्सी, सिएसआइटी र बिबिए शैक्षिक कार्यक्रम अर्थात् थप विद्यार्थी संख्या अनुमति दिने विषयको निर्णय विवादमा परेको हो । 

सुके खोलानाला, रोपाइँ गर्न समस्या

मनसुन र मलको पर्याप्तता नहुँदा १५ असारसम्म देशभर १५ प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । कृषि विभागका अनुसार हालसम्म देशभर १३.४९ प्रतिशत मात्र रोपाइँ सकिएको छ । गत वर्ष १५ असारसम्म १५.६२ प्रतिशत रोपाइँ सकिएको थियो । मध्य असारसम्म धेरै क्षेत्रफलमा रोपाइँ भइसक्नुपर्ने भए पनि मनसुन नहुँदा किसानले रोपाइँ गर्न नसकेको विभागले जनाएको छ ।

धान उत्पादनको पकेट जिल्ला कैलालीमा अत्यधिक गर्मी र लामो समयदेखि पर्याप्त पानी नपर्दा रोपाइँ गर्न समस्या भएको छ । मध्यअसारसम्म अधिकांश किसानका खेत बाँझै छन् । खडेरीले खोलानाला पनि सुकेका छन् । स्यालो ट्युबेल, बोरिङ र पम्पसेटबाट रोपाइँ भएका ठाउँमा रोपो जोगाउन मुस्किल छ । पानी नपर्दा रोपेको धान सुक्न थालेको छ । ‘बोरिङबाट रोपाइँ त गरिरहेका छौँ, तर खडेरीले रोपो सुकेको छ,’ भजनी नगरपालिका– ४, धनौराका किसान रामनारायण चौधरीले भने, ‘आइतबार राति परेको थोरै पानीले केही राहत भएको छ ।’

नक्कली प्रहरी बनेर १० लाखभन्दा बढी रकम लुटेको आरोपमा चारजना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको परिचय दिँदै हतकडी लगाएर १० लाख ९५ हजार रुपैयाँ, मोबाइल फोन तथा बैंकका खाली चेक लुटेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार असार ९ गते साँझ करिब ७ बजे सिन्धुली घ्याङलेख गाउँपालिका– ५ घर भई काठमाडौं महानगरपालिका– १६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तानको कोठामा घटना भएको थियो। त्यहाँ उनका चिनजानका साथी सर्लाही लालबन्दी नगरपालिका– ८, खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान रहेका वेला ५–६ जनाको समूह पुगेको प्रहरीले जनाएको छ।

सुनको भाउ एकैदिन तोलामा चार हजार पाँच सय रुपैयाँले घट्यो

मंगलबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा एक हजार चार सय रुपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन चार हजार पाँच सय रुपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन दुई लाख ७७ हजार नाै सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा किनबेच भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी चार हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ताेलामा १५ रूपैयाँले घटेर चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार