मूल्य घट्ने अनुमान गर्दै देशभरका पेट्रोलपम्प व्यवसायीले उठाएनन् तेल, निगमका कर्मचारी शंकाको घेरामा

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

आज रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घट्ने अनुमान गर्दै देशभरका पेट्रोलपम्प व्यवसायीले आयल निगमबाट दैनिक खपतको तुलनामा न्यून मात्रामा तेल उठाएका छन्।

नियमित कार्यतालिकाअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज मंगलबार दिउँसो नयाँ खरिद मूल्य आउने र निगमले आजै मूल्य घटाउने पम्प व्यवसायीको अनुमान छ। त्यसैले, महँगोमा किनेर सस्तोमा बेच्नुभन्दा पम्प व्यवसायीले सरसल्लाह गरेर आयल निगमका कतिपय डिपोबाट तेल नै उठाएका छैनन्। केही डिपोबाट न्यून परिमाण मात्रै उठाएका छन्।

व्यवसायीले अनुमान गरेजस्तै आइओसीबाट मंगलबार दिउँसो नयाँ मूल्य आएको छ र आजै रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न आयल निगमको सञ्चालक समिति बैठक साँझ ६ बजे डाकिएको छ। पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष विश्व अर्यालले अन्तर्राष्ट्रिय बजार मूल्य विश्लेषण गर्दा आइओसीले आज ठुलै दरमा मूल्य घटाएर पठाउन सक्ने अनुमान गरेको बताए। ‘व्यवसायीले मूल्य घट्ने आ–आफ्नो विश्लेषण गरेर निगमको डिपोबाट तेल नउठाएको हुन सक्छ,’ उनले भने, ‘तर, बजारमा अभाव हुन दिने अवस्था रहनेछैन।’

मूल्य कुन दरमा घट्ने वा बढ्ने भन्नेबारेमा आयल निगमका कर्मचारीले समेत सूचना चुहाउने गरेका छन्। गत चैतमा मूल्य बढ्ने वेला पनि कर्मचारीको मिलेमतोमा ठुलो मात्रामा तेल बिक्री भएको थियो। सो घटनालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेको छ।

मूल्य घट्ने वेलामा पनि यस्तै सूचना बाहिरिएकाले पेट्रोलपम्पमा तेल नै नगएको हुन सक्ने अनुमान गरिएको छ। तर, अध्यक्ष अर्यालले भने मूल्य घट्ने सूचना कर्मचारीबाट लिनुपर्ने आवश्यकता नै नरहेको बताए। ‘अन्तर्राष्ट्रिय ट्रेन्ड र हाम्रा बाह्य च्यानलहरूमार्फत नै नयाँ मूल्यबारे अनुमान लगाउन सक्छौँ। त्यसैले, आयल निगमका कर्मचारीबाट सूचना लिने–दिने भन्ने कुरै आउँदैन,’ उनले भने।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने आयल निगमको थानकोट डिपोले सामान्य अवस्थामा दैनिक १५ लाख लिटर पेट्रोल र डिजेल बिक्री गर्ने गरेको छ। तर, मंगलबार पेट्रोल १ लाख ८१ हजार र डिजेल ६६ हजार लिटर गरेर करिब अढाई लाख लिटर मात्रै बिक्री गरेको डिपो प्रमुख जगदीश यादवले जानकारी दिए। ‘आज बिहानदेखि दिनभरसम्म पम्प व्यवसायीबाट माग नै आएन,’ उनले भने, ‘त्यसैले इन्धन बिक्री न्यून हुन पुगेको छ।’

थानकोट डिपोले एक सय ८३ वटा पम्पलाई पेट्रोल र डिजेल बिक्री गर्ने गरेकोमा मंगलबार ४५ वटा पम्पले मात्रै तेल उठाएका छन्। यति ठुलो संख्यामा पेट्रोलपम्पले तेल नै नउठाउँदा बुधबार बिहानबाटै उपत्यकामा पेट्रोल–डिजेलको आपूर्ति असहज हुने जोखिम बढेको छ। विगतमा पनि प्रत्येक १५–१५ दिनमा इन्धनको मूल्य आउने गरे पनि निगम व्यवस्थापनले व्यवसायीलाई छलेर मूल्य निर्धारण गर्ने गरेको थियो। तर, वर्तमान निगम व्यवस्थापन व्यवसायीलाई लाभ हुने गरी निर्णय गर्दै आएको छ।

निगमको धनगढी डिपोबाट भने मंगलबार एक थोपा पनि तेल बिक्री भएको छैन। धनगढी डिपो प्रमुख मनोहर डिसीले सामान्य अवस्थामा दैनिक पेट्रोल डेढ लाख लिटर र डिजेल तीन लाख लिटर बिक्री हुने गरे पनि मंगलबार एक थोपा बिक्री नभएको बताए। ‘कुनै पनि पेट्रोलपम्पले मंगलबार तेल लगेका छैनन्,’ उनले भने।

सबैभन्दा ठुलो डिपोका रूपमा परिचित मधेश प्रादेशिक कायालय, अमलेखगन्जबाट समेत अत्यन्तै न्यून तेल उठेको छ। अमलेखगन्ज डिपो प्रमुख अशोक शाहका अनुसार मंगलबार ६७ हजार लिटर पेट्रोल र एक लाख ८१ हजार लिटर डिजेल बिक्री भएको छ। जब कि यो डिपोबाट सामान्य अवस्थामा दैनिक ५ लाख लिटर पेट्रोल र १५ लाख लिटर डिजेल गरेर कुल २० लाख लिटर इन्धन बिक्री हुने गरेको थियो।

डिपोहरूले औसत मागको तुलनामा न्यून तेल बेचेका कारण बुधबारबाट देशभर इन्धन वितरण प्रभावित हुने जोखिम बढेको छ। व्यवसायीलाई तेल उठाउन निगम व्यवस्थापनले दबाबसमेत दिएको छैन। विगतमा भने इन्धन उठाउन नचाहने व्यवसायीलाई दबाब दिएर आपूर्ति सहज गराउने अभ्यास थियो।

सुझावित समाचार