१२ वर्षयताकै सबैभन्दा अनुशासित बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक वर्ष ०८३/८४ का लागि प्रस्तुत गरेको बजेट पछिल्लो १२ वर्षयताकै सबैभन्दा अनुशासित र तुलनात्मक रूपमा सानो आकारको रहेको बताएका छन्।

सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले बजेटको आकार अनुमानित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को २८.५ प्रतिशतमा सीमित रहेको उल्लेख गरे। यही आधारमा यसलाई पछिल्लो १२ वर्षकै सबैभन्दा अनुशासित बजेटका रूपमा लिन सकिने उनको भनाइ थियो।

बजेट कार्यान्वयनबारे अनावश्यक शंका नगर्न आग्रह गर्दै अर्थमन्त्री वाग्लेले कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयमा केन्द्रित विभिन्न अधिकार सम्बन्धित मन्त्रालयहरूलाई हस्तान्तरण गरिएको जानकारी दिए। उनका अनुसार मन्त्रालयबिच फाइल घुमाएर स्वीकृति लिनुपर्ने पुरानो व्यवस्था हटाइएको छ भने रकमान्तरलगायतका अधिकारसमेत सम्बन्धित मन्त्रालयलाई दिइएको छ।

उनले शिक्षा, स्वास्थ्य तथा विद्युत् क्षेत्रमा प्रस्ताव गरिएका करका व्यवस्था तत्कालीन आवश्यकताभन्दा दीर्घकालीन सार्वजनिक हितलाई ध्यानमा राखेर तय गरिएको स्पष्ट पारे। आर्थिक विकासका लक्ष्य हासिल गर्ने उद्देश्यलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको उनले बताए।

यसैबिच, प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। 

सुझावित समाचार