मधेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयले वीरगन्ज महानगरपालिका– ११, रानीघाटस्थित कृषि औजार कारखानाअगाडिको मुख्य सडकमा नाला निर्माण नै नगरी ढलान गर्न ठेक्का लगाएपछि स्थानीयले विरोध गरेका छन्।
सामान्य पानी पर्दा पनि सडकमै पानी जम्ने समस्याबाट पीडित स्थानीयले शुक्रबार ठेकेदारले ढलानको काम अगाडि बढाउन थालेपछि विरोध जनाएका हुन्।
भौतिक पूर्वाधार विकास कार्यालयले ४३ लाख २० हजार रुपैयाँमा वीरगन्जको मिश्रा निर्माण सेवालाई उक्त निर्माणको ठेक्का दिएको हो।
उक्त ठेक्काको सम्झौतापत्रमा सडक तथा नाला निर्माण उल्लेख गरिएको छ। कालोपत्रे सडकमा ढलान किन पास गरिएको भन्दै स्थानीयले वडाध्यक्षलाई प्रश्न गरेका थिए।
विगतमा पिच गरिएको उक्त सडकमा अहिले ढलान गर्न लागिएको हो। भौतिक पूर्वाधार विकास कार्यालयका प्राविधिकका अनुसार ढलान गर्नुअघि पुरानो पिच उखेल्ने, ग्रेडिङ गर्ने, ग्राभेल ओछ्याउने, फलामे डन्डी राख्ने र त्यसपछि मात्रै ढलान गर्नुपर्ने मापदण्ड छ।
तर, ठेकेदारले पुरानो पिच नउखेली त्यसैमाथि ढलान गर्ने योजना बनाएको स्थानीयले आरोप लगाएका छन्। कार्यालयका इन्जिनियरको मिलेमतोमा पुरानो पिच नउखेली खाल्डाखुल्डी मात्र पुर्ने तयारी भइरहेको उनीहरूको भनाइ छ।
भौतिक पूर्वाधार विकास कार्यालयका प्राविधिक युवराज पटेलले सम्झौताअनुसार ठेकेदारले गुणस्तर कायम राख्नुपर्ने बताए। ठेकेदारले वडाध्यक्ष अजय चौरासियाकै समन्वयमा काम अगाडि बढाएको इन्जिनियर पटेलले जानकारी दिए।
भौतिक पूर्वाधार विकास कार्यालय, वीरगन्जका प्रमुख राजेशलाल कर्णले इन्जिनियरको रेखदेखमा मापदण्डअनुसार नै काम भइरहेको बताए।